
काठमाडौँ । नेपाल वायुसेवा निगमले एयरबसलाई दुई न्यारो बडीका विमान खरिद गर्न पाँच लाख डलर (चार करोड ४० लाख रुपैयाँ) प्रतिबद्धता शुल्क पठाएको छ । कर्मचारी सञ्चय कोषबाट बिमान खरिदका लागि नौ अर्ब रुपैयाँ ऋण उठाउने प्रारम्भिक सहमति भएपछि निगमले प्रतिवद्धता रकम पठाएको हो ।
निगमले एयरबससँग दुईवटा ‘न्यारो बडी’ विमान खरिद गर्ने चैत २३ गते समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । हस्तक्षर गरेको एक साता भित्र वैना पठाउनुपर्ने भए पनि ऋणमा प्रारम्भिक सहमति जुटाउन ढिला भएपछि निगमले १० दिन ढिला गरी रकम पठाएको हो ।
एयरबससँगको समझदारीअनुसार सन् २०१५ को फ्रेबु्रअरीसम्म एउटा र मार्चसम्म अर्को विमान नेपाल ल्याण्ड हुनेछ । विमान आउनुअघि निगमले अन्तराष्ट्रिय उडानका लागि विमान भाडामा लिने प्रारम्भिक निर्णय गरेको छ । निगमले अहिले दुई दशक पुराना दुई विमानबाट अन्तराष्ट्रिय उडान गरिरहेको छ ।
कोषले निगमलाई १२ प्रतिशत व्याजमा ऋण दिन प्रारम्भिक सहमति जनाएको छ । निगमलाई ऋण प्रवाह गर्न कोषले सरकारको जमानत मागेको छ । कर्मचारीको सञ्चय व्यवस्थापन गर्ने कोषसँग अहिले एक खर्ब २१ अर्ब रुपैयाँको पुँजी छ । यो पुँजीमध्ये कोषले साढे २३ अर्ब रुपैयाँ बैंकमा निक्षेप राखेको छ भने १५ अर्ब रुपैयाँको सरकारी ऋणपत्र खरिद गरेर राखेको छ । सञ्चय कोष स्वदेशी पुँजीमा निर्माण भैरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पनि सबैभन्दा ठूलो ऋणदाता हो ।