आइएफसीले आन्तरिक पुँजी बजारको विकासमा सघाउने, जलविद्युतमा पनि सहयोग गर्ने आश्वासन

बिजमाण्डू
२०६९ चैत्र ३० गते ००:०० | Apr 12, 2013

काठमाडौं । अन्तराष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपालको चरम ऊर्जा अभावलाई हटाउन जलविद्युत् सम्भाव्यताको विकासमा आईबीआरडीसँग मिलेर  सहयोग गर्ने भएको छ । नेपाल भ्रमणमा रहेका आईएफसीका उपाध्यक्ष एवं कोषाध्यक्ष जिङदोङ हुवाले बिहिवार अर्थमन्त्री शंकर कोइरालासँग भेट गरी सहयोगका लागि इच्छा जाहेर गरेका हुन् । वितेको पाँच वर्षमा आईएफसीले नेपालको ऊर्जा, यातायात, लघुवित्त, र व्यापार वित्तका परियोजनामा चार करोड ८० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ ।
आईएफसीले व्यावसायिक नियमनलाई सबल पार्न, वित्तीय पहुँच बढाउन, साना उद्यमहरूको विकासमा सहयोग पु¥याउन र पूर्वाधारमा सार्वजनिक–निजी साझेदारीको सिर्जनालाई सहजीकरण गर्न परामर्श सेवा पनि उपलब्ध गराउँदै आएको छ । हुवाले निजी क्षेत्रको विकासले नै नेपालको दीर्घकालिन वृद्धि र गरिबी निवारणमा सहायोग पुग्ने समेत बताए । विश्व बैंक समूहको सदस्यका रुपमा रहेको आईएफसीका उपाध्यक्ष एवंम कोषाध्याक्षमा नियुक्त भएपछि हुवाको यो पहिलो नेपाल भ्रमण हो । उनले निजी लगानीकर्ताको विश्वास अभिवृद्धि, साना व्यवसायलाई सहयोगको माध्यम पहिल्याउन तथा देशका ठूला परिमाणका जलविद्युत्, यातायात र अन्य पूर्वाधार परियोजनामा निजी क्षेत्रको लगानी बढाउने उद्देश्यसहित व्यावसायिक नेतृत्वकर्तासँग पनि भेट गरेका थिए ।
अर्थमन्त्री कोइरालासँग भेटमा हुवाले आन्तरिक पुँजी बजारको विकासमा पनि  आईएफसीको सहयोगबारे छलफल गरेका थिए । उनले छलफलमा नेपालले स्थायित्व र वृद्धिको बाटोमा हिडिरहेको समयमा आईएफसी निजी क्षेत्रको विकास र अवसरको सिर्जनामा सहयोग गर्न प्रतिवद्ध छ, हुवाले भने, यो एजेन्डाका लागि महत्वपूर्ण तत्व आन्तरिक पुँजी बजारको विकास हो । यसले दीर्घकालमा ठुला पूर्वाधार परियोजनाहरू तथा रोजगारी र वृद्धिका बाहक साना तथा मझौला उद्योगहरूमा स्थानीय मुद्राको वित्तीय लगानी जुटाउन सहयोग पुर्याउने छ ।
आईएफसीले स्थानीय मुद्राको ऋणपत्र जारी गर्ने तथा अन्य जारीकर्ताहरूका लागि बाटो सहजीकरण गरी स्थानीय पुँजी बजारलाई सहयोग पु¥याउँदछ । आईएफसीले निजी क्षेत्रको माग पूरा गर्न स्थानीय मुद्रामा लगानी पनि उपलब्ध गराउने गर्दछ । आईएफसीले स्थानीय पुँजी बजारलाई सहयोग गर्नको निम्ति स्थानीय मुद्राको ऋणपत्र जारी गर्ने गर्दछ जसले प्राय अन्य जारीकर्तालाई समेत बाटो सहजिकरण गर्दछ । आइएफसीले २०१२ मा हालसम्मकै सर्वाधिक २० अर्ब अमेरिकी डलरभन्दा माथि लगानी विस्तार गरेको छ ।

Tata
GBIME