भारतमा ५० हजार माथिको सुन खरिदमा प्यान अनिवार्य, नेपालबाट तस्करीको सम्भावना बढ्यो

बिजमाण्डू
२०६९ चैत्र १ गते ००:०० | Mar 14, 2013

नयाँदिल्ली । भारतले ५० हजार भारुभन्दा माथिको सुन खरिदमा प्यानकार्ड अनिवार्य गरेको छ । यसले भारतमा कालोधन लुकाउन प्रयोग गरिने सुन खरिदका लागि नेपालमा तस्करीको सम्भावना बढाएको छ । यस अघि भारतमा पाँच लाख भारुको गहना र दुई लाख भारुको सुन खरिदमा प्यान कार्ड अनिवार्य थियो ।
सुनको बढ्दो आयातले अर्थतन्त्रको स्वास्थ्य विगारेपछि भारत सरकारले सुनमा हुने लगानीको अंश घटाउन अनेक उपाय गरिरहेको छ । त्यसमध्येको यो एउटा सुन खरिदमा प्यानकार्डको अनिवार्य व्यवस्था हो । यस अघि भारत सरकारले सुनको आयातकरमा पनि बढाएको थियो । भारत सरकारले सम्पत्ती शुद्धिकरणसम्वन्धी ऐनमा संसोधन गरेर सुन तथा महँगा पत्थरको खरिदमा रोक लगाउने व्यवस्था गर्न लागेको हो । यसबाहेक सुनका डिलरहरुले ग्राहकलाई केवाईसी (नो योर कस्टमर) नियमको पालना गर्नुपर्ने व्यवस्था गर्दैछ । सरकारले जानकारी माग्नासाथ ग्राहकका विषयमा पूरै विवरण दिनुपर्ने व्यवस्था पनि गर्न लागिएको छ । आयकर विभागले यस विषयमा एउटा नोटिफिकेशन जारी गरेर सुनमा भएका कारोवार कम्तिमा पनि पाँच वर्ष सुरक्षित राख्नुपर्ने व्यवस्था गर्दैछ ।
भारत सरकारले गर्न लागेको नयाँ व्यवस्थाले नेपालबाट हुने सुनको तस्करी बढ्ने सम्भावना छ । यस अघि पनि चीनको खासा हुँदै नेपालको बाटो भएर सुनको तस्करी हुने गरेको छ । यही तस्करीका कारण नेपालमा सुनको मिसावट हुने, महँगो पर्ने र कालोबजारी हुने गरेको छ ।

Tata
GBIME