नेपालमा अझै लोकप्रिय बन्यो फेसबुक, १५ लाख ४४ हजार नेपालीको फेसबुक खाता

बिजमाण्डू
२०६९ साउन ४ गते ००:०० | Jul 19, 2012
नेपालमा अझै लोकप्रिय बन्यो फेसबुक, १५ लाख ४४ हजार नेपालीको फेसबुक खाता

काठमाडौं । विश्वभर फेसबुक प्रयोगकर्ताको संख्या ९५ करोड नाघेको छ, नेपालमा फेसबुक प्रयोग गर्नेको संख्या १५ लाख ४४ हजार २० पुगेको छ । फेसबुकले जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार तीन महिनामा नेपालबाट एक लाख २० हजार फेसबुक प्रयोगकर्ता थपिएका छन् । नेपालमा यो साढे आठ प्रतिशतको हाराहारीमा वृद्धि भैरहेको छ ।

आन्दोलनमा पनि फेसबुक: संविधानसभाबाट संविधान माग्न फेसबुकबाट सुरु गरिएको आन्दोलनमा पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ (फाइल तस्वीर)

Tata
GBIME
Nepal Life

एशियामा सबैभन्दा धेरै फेसबुक प्रयोगकर्ताको सूचीमा नेपाल १४ औं नम्वरमा छ । नेपालभन्दा अघि सिंगापुर १३ औं नम्वरमा छ भने श्रीलंका नेपालभन्दा पछि १५ औं नम्वरमा छ । एशियामा सबैभन्दा बढी भारतमा चार करोड ९८ लाखले फेसबुक खाता खोलेका छन् । भारतलाई इन्डोनेशियाले चार करोड ३८ लाख खाता खोलेर पछ्याइरहेको छ । फिलिपिन्समा दुई करोड ८२ लाख, थाइल्याण्डमा एक करोड ४९ लाख, मलेसियामा एक करोड २४ लाख, ताइवानमा एक करोड २२ लाख फेसबुक प्रयोगकर्ता छन् ।
पछिल्लो प्रतिवेदन अनुसार जापानमा एक करोड, दक्षिण कोरियामा ७१ लाख, पाकिस्तानमा ६६ लाख, भियतनाममा ५४ लाख, हङकङमा ३७ लाख, बंगलादेशमा २७ लाख फेसबुक प्रयोगकर्ता छन् ।
नेपालभन्दा पछि कम्बोडियो साढे पाँच लाख, मंगोलिया चार लाख १७ हजार, अफगानिस्थान दुई लाख ३९ हजार र मकाउमा एक लाख ९० हजारको फेसबुक खाता छ ।
फेसबुकका विश्वभर ९५ करोड खाता भए पनि त्यसको ८० प्रतिशत खाता अमेरिका र क्यानडा बाहिर रहेको फेसबुक प्रतिवेदनमा छ । २०१२ को जुन महिनासम्म एशियामा २० करोड फेसबुक खाता खोलिएका छन् । सन् २००६ सेप्टेम्वर २६ मा फेसबुक सञ्जाल विश्वका लागि खुला भएको थियो । त्यसको ४९ महिनापछि फेसबुकमा १० करोड खाता खोलिएका थिए ।
तर एशियामा मात्रै अर्को १० करोड खाता खोल्न फेसबुकका लागि जम्मा २० महिना लागेको थियो ।