कमोडिटी फ्युचरले कंगाल बनायो, ग्राहक ६० प्रतिशतले घटे, कारोवार पनि घट्यो

बिजमाण्डू
२०६९ साउन २ गते ००:०० | Jul 17, 2012
कमोडिटी फ्युचरले कंगाल बनायो, ग्राहक ६० प्रतिशतले घटे, कारोवार पनि घट्यो

काठमाडौं । सेयर बजार घट्न थालेपछि एकाएक मौलाएको कमोडिटी फ्युचर कारोबारमा अहिले कंगाल हुने ग्राहक वढेका छन् । जति पैसा खन्याए पनि आम्दानी हुन छाडेपछि ग्राहकहरु ६० प्रतिशतभन्दा वढीले घटिसकेका छन् । ग्राहकलाई सजिलै ठगेर नाफा गर्न सकिन्छ भनेर च्याउ उम्रेसरी खुलेका कमोडिटी फ्युचर कम्पनीहरुसँग अहिले दैनिक ९ सय ग्राहकले कारोबार गर्छन् । केही समयअघि दैनिक कारोबार गर्ने ग्राहकहरु ३ हजारको हाराहारीमा थिए ।
नियामक निकाय र आवश्यक ऐन नहुँदा कमोडिटी फ्युचर बजार ग्राहकका लागि अर्को ‘क्यासिनो’ बनेको हो । यही बजारका एक जानकारका अनुसार, सुरुसुरुमा लगानी गर्ने १ सय जनामध्ये ९९ जनाले गुमाउँथे । अहिले यो घटेर ८० मा आएको छ । ग्राहक संख्या घटेर गुमाउने प्रतिशत कम आएको उनले बताए । ‘अहिले नयाँ नयाँ सफ्टवेयर ल्यायौं भन्दै ग्राहकलाई आकर्षित गर्ने काम भइरहेको छ,’ उनले भने, ‘सफ्टवेयरले ग्राहकलाई फाइदा गराउन सक्दैन । कम्पनीको सम्पति मात्र थपिएको हो ।’
अहिले मर्कन्टाइल एक्सचेन्ज (मेक्स) नेपाल, कमोडिटी मेटल एक्स्चेन्ज (कोमेन), नेपाल डेरिभेटिभ एक्सचेन्ज (एनडेक्स) र कमोडिटी फ्युचर एक्सचेन्ज (सिएफएक्स) कम्पनी सञ्चालनमा छन् । उनका अनुसार, कारोबार घटिरहँदा पनि कम्पनीहरु नफामा छन् । कम्पनी नाफामा जानुको एउटै कारण हो पारदर्शी कारोबार छैन । ग्राहकले गुमाइरहेका छन् ।
‘कम्पनी जसले खोलेपनि हुन्छ घाटमा जाँदैजान्न,’ उनले भने, ‘कमिसन नै धेरै हुन्छ । त्यसमाथि कसैले नियमन नगर्ने भएकाले कारोबारमा तलमाथि गर्न सकिन्छ ।’ कम्पनीहरुले एक हजारको कारोबारमा २ सय ५० रुपैयाँसम्म पनि कमिसन राख्ने गरेका छन् ।
कम्पनीहरुले क्लियरिङ हाउस (कारोबार राफसाफ गर्ने) वेग्लै लगानीकर्ताको कम्पनी भनेर दावी गरिए पनि एक्सचेन्जकै एउटा पाटो हो । कारोबार गर्दा ग्राहक नाफामा गए पनि क्लियरिङ हाउसले गुमाउँछ । एक करोड रुपैयाँ पनि लगानी नभएको क्लियरिङ हाउस उस्तै परे एकै दिनमा घाटामा जाने पनि हुन सक्छ । त्यही भएर क्लियरिङलाई नाफामा लैजान कारोबारमा तलमाथि गरिन्छ ।
कारोबार गर्दा एक दुई दिनको अन्तरमा कम्पनीहरुको सफ्टवेयरमा समस्या देखिन्छ । यो प्राकृतिक समस्या होइन । एक्सचेन्ज आफैले अस्थायी रुपमा ल्याएको समस्या हो । बजारमा एकदमै तलमाथि भएको अवस्थामा घाटा हुन सक्ने विश्लेषणमा कम्पनीले सफ्टवेयरलाई समस्यामा देखाउँछ । बजार घटेको अवस्थामा सफ्टवेयर बनाएको वहाना पार्दै कम्पनीले नाफा निकाल्छ ।
एक्सचेन्ज कम्पनीको नाफा भनेको ग्राहकसँग लिने कमिसन मात्र हो । क्लियरिङ हाउसले भने मूल्य र कमिसन दुवैबाट नाफा निस्कने भएकाले वढी हुन्छ । त्यही भएर एक्सचेन्ज कम्पनीले अरुलाई क्लियरिङको जिम्मा दिँदैनन् । आफैले नदेखिने गरी सञ्चालन गर्छन् । नेपाली एक्सचेन्ज कम्पनीहरुले सुन, चाँदी, तामा, कच्चा तेललगायतको कारोबार गर्छन् । ग्राहकले पैसाको वद्लामा सुनलगायतका वस्तु मागे त्यो पाइँदैन । कम्पनीहरुले तीन वर्षदेखि नेपाली कृषि उत्पादनको पनि ‘फ्युचर’ कारोबार गर्ने भन्दै आएका छन् । तर कसैले पनि गरेका छैनन् ।

Tata
GBIME
Nepal Life