काठमाडौं। वन मन्त्रालयले जग्गा भोगाधिकार नदिएका कारण चुनढुंगा अभावले पाँच वटा सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुगेका छन्।
खानी तथा भूगर्भ विभागले अनुमति दिएको खानीको भोगाधिकार वनले रोकेका कारण चुनढुंगा नपाएर सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुगेका हुन्।
उद्योगीहरुका अनुसार पश्चिममा धेरै उद्योग वनले भोगाधिकार नदिंदा सबैभन्दा प्रभावित भएका छन्। वन मन्त्रालयमा झण्डै ४५ वटा उद्योगको फाइल अड्किएको उद्योगीहरुले बताएका छन्। अड्किएका फाइल अगाडि बढाउन वनले मानेको छैन।
‘हामीले धेरै पटक वन मन्त्रालयका सचिवलाई भेटेर भनिरहेका छौं। उहाँले वनको विषयलाई सामान्य रुपमा नहेर्न भन्दै फाइल अगाडि बढाउन मान्नुभएको छैन,’ एक उद्योगीले बिजमाण्डूसँग भने।
उद्योगीले भोगाधिकार सम्बन्धी फाइल अगाडि बढाउन आग्रह गर्दा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले वन क्षेत्र नास गर्न नहुने जवाफ दिएका छन्।

ती अनुसार उद्योगभन्दा वन प्यारो रहेको भन्दै वनका कर्मचारीले फाइल अगाडि बढाउन मानेका छैनन्। ‘तपाइँहरुलाई उद्योग प्यारो होला। तर हामीलाई वन प्यारो छ। जथाभावी कसरी भोगाधिकार दिन सकिन्छ?,’ सचिव मिश्रसहित वनका कर्मचारीलाई उद्यृत गर्दै ती उद्योगीले भने।
वन मन्त्रालयमा पटक पटक धाउँदा पनि फाइल अगाडि नबढेपछि उद्योगीहरु आजित भइसकेका छन्। ‘हामीलाई पनि वनको माया छ। वन चाहिन्छ। तर, उद्योग बन्द हुँदा श्रमिकदेखि देशलाई नै नोक्सान हुन्छ भन्ने कुरा मान्न उहाँहरु तयार हुनुहुन्न,’ सचिवलाई भेटेका अर्का उद्योगीले भने, ‘हामी त आजित भइसकेका छौं।’
कतिपय उद्योगले अहिले टाढका अरु खानीबाट चुनढुंगा ल्याएर सिमेन्ट उत्पादन गरिरहेका छन्। उद्योगीहरुका अनुसार सीजी, घोराही, अर्घाखाँची, रिद्धिसिद्धि लगायत उद्योगसँग रहेको खानी उपयोग सकिन लागिसकेको छ।

उनीहरुसँग रहेको खानी वनभित्र रहेकाले भोगाधिकारका लागि फाइल पठाएको महिनौं भइसक्दा पनि सुनुवाइ भएको छैन।
बालेन्द्र शाह नेतृत्वको सरकारले फाइल नअड्काउने नीति लिएको भने पनि वनका कर्मचारीको एटिच्युडमा उद्योगीहरुले कुनै परिवर्तन देखेका छैनन्। ‘उहाँहरुको मानसिकता पुरानै छ। उहाँहरुले सिमेन्ट उद्योगलाई वनजन्य उद्योग भनेर फाइल अड्काइ रहनुभएको छ,’ ती उद्योगीले भने, ‘हाम्रो सम्पर्क मन्त्रालय उद्योग मन्त्रालय हो। उद्योगमन्त्रीले यो समस्या समाधान गर्ने आशा गरेका थियौं। तर, अहिलेसम्म उहाँले यतातिर ध्यान दिन नभ्याउनुभएको हो कि?’
उद्योगमन्त्री दीपककुमार साह सानातिना मुद्दामा अल्झिएका छन्। साउन अन्तिम साता मन्त्रालयको नेतृत्व सम्हालेका साहले अहिलेसम्म निजी क्षेत्रका संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल सिमेन्ट उत्पादक संघ लगायतका प्रतिनिधिलाई छुट्टाछुट्टै वा संयुक्त रुपमा भेटेका छैनन्।
सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले वन क्षेत्रको जग्गा भोगाधिकारको समस्याले उद्योगहरु अप्ठेरोमा परेको भन्दै यो मुद्दा सल्टाउन पहल गरिरहेको बताए। उनका अनुसार प्रधानमन्त्री कार्यालयमार्फत वनको भोगाधिकारको समस्या समाधान गर्ने प्रयास भइरहेको छ।

‘वनको भोगाधिकारको समस्याले केही उद्योगलाई समस्या परिसकेको छ। त्यसलाई सम्बोधन गर्ने गरी प्रधानमन्त्री कार्यालयले काम गरिरहेको जानकारी पाएका छौं,’ उनले भने, ‘सरकारले खानी लगायत उद्योगको समस्या समाधानका लागि ऐन नियम संशोधन गर्दैछ। त्यसमा हाम्रो समस्या सम्बोधन हुनेछ भन्ने विश्वास लिएका छौं।’
प्रधानमन्त्री कार्यालयले चुनढुंगा उत्खननको अनुमति दिने खानी विभागमा एकद्वार प्रणाली विकास गर्ने गरी कानुन संशोधन हुने उद्योगीको आशा छ।
‘खानी उद्योगलाई अगाडि बढाउन सके मात्रै देशको अर्थतन्त्रले गुणात्मक फड्को मार्छ। अहिलेको सरकारले त्यसलाई राम्रोसँग हेरेर सम्बोधन गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं,’ मारुले भने, ‘खानी विधेयकमा राखिएका कडा प्रावधान पनि सच्चिने आशा छ।’









