काठमाडौं। इन्स्योरेन्स कम्पनीका आधारभूत सेयरधनीमा एकाघर परिवारका सदस्यको नाममा भएको अलग अलग सेयर समेत गणना हुने गरी सरकारले बीमा सम्बन्धी ऐन संशोधनको प्रक्रिया अगाडि बढाएको छ।
सरकारले केही नेपाल ऐन संशोधनमार्फत बीमा सम्बन्धी ऐन, २०७९ का व्यवस्था संशोधनका लागि तयार पारेको मस्यौदामा एकाघरको परिवारका सदस्यले अलग अलग रुपमा लिएको सेयरको स्वामित्व संयुक्त रुपमा गणना हुने उल्लेख छ।
यसरी गणना गरिएको सेयर कम्पनीको चुक्ता पुँजी एक प्रतिशत वा सोभन्दा बढी हुने भएमा आधारभूत सेयरधनी मानिनेछ।
‘(क) दफा २ को खण्ड (ग) मा रहेका एकाघरको परिवारको सदस्यले अलग अलग रुपमा एक प्रतिशत वा सोभन्दा बढी सेयरको स्वामित्व लिएको भए भन्ने शब्दहरुको सट्टा एकाघरको परिवारका सदस्यहरुले अलग अलग रुपमा लिएको सेयरको स्वामित्व संयुक्त रुपमा गणना गर्दा बीमकको चुक्ता पुँजीको एक प्रतिशत वा सोभन्दा बढी हुने भएमा भन्ने शब्दहरु राखिएका छन्,’ प्रस्तावित संशोधनको मस्यौदामा उल्लेख छ।
बीमा सम्बन्धी ऐन अनुसार अहिले आधारभूत सेयरधनीका रुपमा कम्पनीका एकाघर परिवारका छुट्टा छुट्टै सदस्यको नाममा रहेको सेयर संयुक्त रुपमा गणना गरिएको छैन।
अब संशोधनमार्फत वित्तीय स्वार्थको दायरालाई फराकिलो बनाउन खोजिएको छ। प्राधिकरण सञ्चालक समितिमा पूर्वाधार विकास मन्त्रालयको सहसचिवलाई राख्ने प्रस्ताव गरिएको छ। विज्ञ सञ्चालकको योग्यता हेरफेर गर्न खोजिएको छ।
यस्तै, एकजना व्यक्ति वा निजको एकाघरको परिवार वा निजको एकाघरको परिवारको सदस्य आधारभूत सेयरधनी रहेको कुनै कम्पनी वा सङ्गठित संस्थाले बीमा कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतभन्दा बढी हुने गरी सेयर लगानी गर्न नपाउने व्यवस्थालाई हटाउन खोजिएको छ।
प्रस्तावित बीमा कम्पनीका संस्थापक सेयरधनीमध्ये कुनै एक व्यक्ति, एकाघरको परिवार वा सम्बन्धित व्यक्ति वा संस्थाको प्रत्यक्ष वा अप्रत्यक्ष सेयर स्वामित्व संयुक्त रूपमा गणना गर्दा त्यस्तो कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतभन्दा बढी हुने भएमा प्राधिकरणले बीमा कम्पनी स्थापना गर्न पूर्वस्वीकृति दिन इन्कार गर्न सक्ने उल्लेख छ।
हालसम्म एउटै व्यक्ति, एकाघरको परिवार, संस्था वा समूहको स्वामित्वमा यस्तो १५ प्रतिशत सीमा हुन नहुने व्यवस्था छ।
इन्स्योरेन्स कम्पनीलाई अंकित मूल्य बाहेक प्रिमियम मूल्यमा समेत सेयर निष्कानस गर्न सक्ने व्यवस्था मस्यौदामा छ। ऐनमा कम्पनीले अंकित मूल्यमा सेयर निष्कासन गर्नुपर्ने व्यवस्था छ। तर, कम्पनीहरुले यसअघि नै प्रिमियम मूल्यमा आइपीओ बिक्री गरिसकेका छन्।
प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्य सिलवाल र सेबोनका तत्कालीन अध्यक्ष रमेशकुमार हमालले केही कम्पनीलाई ऐन विपरीत प्रिमियम मूल्यमा आइपीओ बिक्री गर्न अनुमति दिएका थिए।
सीइओसँगै कम्पनीका सञ्चालकले पनि कम्पनीबाट अलग भएको १ वर्षसम्म सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ।










