एयररुटमा भारतको सर्तले रास्वपामा तंरग, रवि-बालेन वान अन वान मिटिङपछि ब्रेकथ्रुमा आशंका

बिजमाण्डू
२०८३ मंसिर ६ गते १३:५८ | Nov 22, 2026
एयररुटमा भारतको सर्तले रास्वपामा तंरग, रवि-बालेन वान अन वान मिटिङपछि ब्रेकथ्रुमा आशंका

काठमाडौं । नेपालले भारतलाई बागडोगरा प्रवेश विन्दु हुँदै सबै किसिमका विमानलाई उडान अनुमति दिन नसकिने जनाएपछि महेन्द्रनगर लगायतको एयर रुट पाउने सम्भावना पनि न्यून देखिएको छ।

GBIME
Tata

नेपाल र भारतका नागरिक उड्डयन प्राधिकरणका अधिकारीबीच भएको छलफलमा नेपालले सबै किसिमका विमानलाई उडान अनुमति दिने विषयमा असहमति जनाएपछि महेन्द्रनगरको एयर रुटको सम्भावना न्यून भएको हो। यद्यपि, प्राविधिक तहमा सहमति नभएको विषय प्रधानमन्त्रीस्तरीय बैठकबाट ब्रेकथ्रु पनि हुनसक्ने स्रोतले बतायो।

भारतले महेन्द्रनगरको एयर रुटको विकल्पमा बागडोगरा प्रवेश विन्दु हुँदै सबै किसिमका विमानलाई उडान अनुमति दिनुपर्ने सर्त राखेको थियो। यो सर्त बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पक्ष र विपक्षमा व्यापक बहस भएको थियो। बागडोगरा विमानस्थल भारतीय वायुसेना एयर फोर्स स्टेसन पनि हो।

त्यसपछि रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग शुक्रबार भएको तीन घण्टा लामो छलफलमा कुनै पनि सम्झौता गर्दा दीर्घकालीन हित र विवादरहित हुने हिसाबले अगाडि बढ्न सुझाव दिएका थिए।

स्रोतका अनुसार रविले भारतले मागेको बागडोगराबाट उडान अनुमतिकै विषय तोकेर नभने पनि विवाद बढाउने विषयमा सम्झौता गर्न नहुने बताएका थिए।

रविको यो अडानपछि नेपालले सबै किसिमका विमानलाई बागडोगराबाट उडान अनुमति दिने विषयमा असहमति जनाएको स्रोतले बताएको छ। एयर रुटका विषयमा प्रधानमन्त्री बालेनको सचिवालय टिमले सबैभन्दा बढी ‘इन्सिस्ट’ गरेको थियो।

‘एयर रुटलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन भनिएको थियो। त्यही आधारमा नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले चार वटा प्रवेश मार्गमा जोडबल पनि गरेका थिए,’ नेपालस्थित भारतीय दूतावास स्रोतले भन्यो, ‘भारतले त्यसको विकल्पमा बागडोगरा भनेको हो। सबै किसिमका विमानको विषयलाई पनि स्पष्ट पारेर व्यावसायिक उडान मात्रै भनेका थियौं। त्यसमा पनि आश्वस्त भएको पाइएको छैन।’

दूतावास स्रोतका अनुसार बालेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको वान अन वान छलफलमा एयर रुटका बारेमा सहमति हुन पनि सक्छ। ‘प्राविधिक तहमा सुल्झाउन नसकेको विषयमा प्रधानमन्त्रीको तहमा स्पष्ट पारेर अगाडि बढ्न सक्ने अवस्था पनि छ। प्राविधिक तहमा राजनीतिक निर्णय गर्न सक्ने क्षमता पनि हुँदैन,’ स्रोतले भन्यो, ‘बागडोगराबाट व्यावसायिक मात्रै भन्ने विषय भएका आधारमा सहमतिको सम्भावना पनि रहन्छ।’

नेपालले महेन्द्रनगर, नेपालगंज, भैरहवा र जनकपुरको प्रवेशमार्ग मागेको थियो। अहिले चिनियाँ जहाज र भुटानको ड्रुक एयर भने ताप्लेजुङबाट भित्रिने गरेका छन्।

किन चाहिएको छ महेन्द्रनगर रुट ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि मुलुकमा यतिखेर भैरहवा र पोखरा गरी थप दुई अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा छन्। तर, वर्षौंदेखि सिमरा प्रवेश विन्दुमात्र खुला भएका कारण विभिन्न मुलुकबाट नेपाल आउने अन्तर्राष्ट्रिय वायुसेवालाई दुरी र संचालनको हिसाबले असहज हुँदै आएको छ।

भैरहवा, पोखरा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्रिने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि महेन्द्रनगर प्रवेश विन्दु ‘लिमा ६२६’ उपयुक्त हुन्छ। अहिले नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सिमरा ‘गल्फ ५९८’ प्रवेश विन्दुमात्र प्रयोग गर्दै आएका छन्। यो प्रवेश विन्दु काठमाडौं र प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मात्र उपयुक्त हुने देखिन्छ।

महेन्द्रनगर प्रवेश विन्दु खुल्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, पोखरा, निजगढ लगायत सबै विमानस्थलमा सहज हुन्छ।

अहिले २० भन्दा बढी कम्पनीका जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक उडान गर्दै आएका छन्।

नेपालबाट भारत, चीन, बंगलादेश, कुवेत, दुबई, साउदी अरब, जापान, थाइल्याण्ड, सिंगापुर, ओमान, कतार, मलेसिया, टुर्कीए लगायत मुलुकमा दुईतर्फी सिधा उडान हुँदै आएको छ। खाडी मुलुकबाट आउने जहाजका लागि महेन्द्रनगर सबैभन्दा छोटो हुन्छ। त्यसले फ्यूल कस्ट घटाएर टिकटको मूल्य पनि घट्छ।