नयाँ दिल्ली। प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणलाई लिएर भारतको तल्लो तहसम्म पनि उत्सुकता देखिन्छ।
३६ वर्षको उमेरका प्रधानमन्त्री भएका कारण पनि जनस्तरसम्म शाहप्रतिको उत्सुकता देखिएको हो। नयाँ दिल्लीको प्रमुख व्यावसायिक एवं वित्तीय केन्द्र कनाँट प्लेसमा रहेका होटल र रेष्टुरेन्टमा बालेनको भ्रमणका बारेमा छलफल र कुराकानी भइरहेको भेटिन्छ। अहिले दिल्लीका प्रमुख स्थानमा नेपाल र भारतका राष्ट्रिय झन्डा राखिएका छन्। शाह र मोदीको फोटोअंकित स्वागतका होर्डिङबोर्ड राखिएका छन्।
‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणका बारेमा जनस्तरसम्म पनि कुराकानी भइरहेको हामीले पाएका छौं। विगतमा हाम्रो प्रधानमन्त्री आउँदा यसरी कुराकानी भएको खासै भेटिदैन्थ्यो,’ भारतस्थित नेपाली दूतावासका एक कर्मचारीले बिजमाण्डूसँग भने, ‘नेपालमा भएको राजनीतिक घट्नाक्रम र प्रधानमन्त्रीज्यूको व्यक्तित्वका कारण पनि यसरी बहस भएको हुन सक्छ।’

प्रधानमन्त्री बालेनका बारेमा त्यहाँका संचारमाध्यमले पनि प्रमुखताका साथ समाचारहरु सम्प्रेषण गरेका कारण उत्सुकता बढी देखिएको हो। जेनजी आन्दोलनमा काठमाडौं महानगरपालिकाका मेयर रहेका बालेनको सक्रियता र सत्ता पलटलाई उच्च प्राथमिकताका साथ समाचार दिएका थिए।
त्यसपछि प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को जनमत र बालेन प्रधानमन्त्री बनेपछि पनि निरन्तर समाचारहरु भारतीय संचारमाध्यममा छाइरहेका छन्। प्रधानमन्त्री भएपछि भारतीय विदेश सचिव बिक्रम मिश्रीलाई भेट्न नदिएको समाचार लगायतले बालेनप्रति भारतमा उत्सुकता देखिएको हो। त्योसँगै भारतमा क्रकोज जनता पार्टीले आन्दोलन सुरु गरेपछि बालेनलाई हेर्ने दृष्ट्रिकोण बेग्लै छ।
उनीहरुले बालेनको २५ घण्टाको भ्रमणलाई उच्च प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्ने देखिन्छ। भारतीय सञ्चारमाध्यमले समेत भारतीय उद्यमीहरू शाहसँग भेट गर्न इच्छुक रहेको समाचार प्रकाशित गरेका छन्। तर उनको औपचारिक कार्यतालिका उच्च राजनीतिक नेतृत्व र कूटनीतिक भेटघाटमै सीमित राखिएको छ।
प्रधानमन्त्री शाहलाई विमानस्थलमा राज्यमन्त्रीस्तरबाट स्वागत गर्ने तालिका छ। प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री एस. जयशंकरले आइतबारै ताज होटलमा भेट गर्ने कार्यक्रम छ। शाहले सोमबार मोदीसँग एकल तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता र राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्नेछन्। त्यसपछि उनी सोझै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्किनेछन्। बालेन नयाँदिल्लीको पाँच तारे होटल ताजको ८औं तल्लामा रहेको ८०३ नम्बर कोठामा बस्दैछन्।
विवादमा कम पर्ने एजेण्डा
प्रधानमन्त्री बालेनका सचिवालय टीम भारत भ्रमण विवादरहित बनाउनका लागि ठूला एजेण्डा नबढाउने तयारीमा छन्। भारत भ्रमणमा कनेक्टिभिटी, ऊर्जा व्यापार र पूर्वाधार विकासजस्ता पूरानै एजेण्डामा केन्द्रित गर्न उनीहरुले खोजिरहेका छन्।

उनले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा नेपालका लागि थप हवाई प्रवेशमार्ग, विद्युत् व्यापार र अन्तरदेशीय रेल सञ्जाल विस्तारका विषयमा सहमति खोज्ने भएका छन्।
भ्रमणका क्रममा जनकपुर-अयोध्या रेलसेवाको संयुक्त उद्घाटन प्रमुख उपलब्धिका रूपमा रहनेछ। धार्मिक पर्यटन प्रवर्द्धनसँगै दुई देशबीचको आवागमन सहज बनाउने उद्देश्यले सातामा एकपटक सञ्चालन हुने उक्त रेलसेवा भारतीय रेलबाट सुरु हुनेछ। नेपालतर्फको २८ किलोमिटर रेलमार्ग विद्युतीकरण गर्न भारतसँग अनुदान सहयोग माग्ने तयारीसमेत नेपाली पक्षको छ। जयनगर–जनकपुर रेलसेवालाई बर्दिबाससम्म विस्तार गर्ने विषय पनि छलफलको एजेन्डामा छ।
नेपालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालन सहज बनाउन भारतसँग थप हवाई प्रवेशमार्गको माग गर्दै आएको छ। विशेषगरी महेन्द्रनगर र भैरहवाबाट अन्तर्राष्ट्रिय उडानका लागि हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सकारात्मक समझदारी बन्न सक्ने नेपाली अधिकारीहरूको अपेक्षा छ। तर, यसमा पनि ब्रेकथ्रुको सम्भावना कम रहेको स्रोतले बतायो।
ऊर्जा व्यापारमा पनि नेपालले महत्त्वपूर्ण समझदारी खोजेको छ। नेपाली पक्षले नेपालमा उत्पादित विद्युत् खरिदका लागि भारतीय बजार थप खुला गर्न र जलविद्युत् आयोजनाको क्षमता तथा लगानीको स्रोतका आधारमा विद्युत् खरिदमा विभेद नगर्ने वातावरण बनाउन प्रस्ताव गर्नेछ। नेपालले भारत हुँदै बंगलादेशसम्म विद्युत् निर्यात विस्तार गर्ने विषयसमेत उठाउनेछ।

यद्यपि, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनासहित लामो समयदेखि विवादमा रहेका ठूला जलविद्युत् आयोजनामा यसपटक ठोस सहमति हुने सम्भावना न्यून छ। महाकाली नदीको पानी बाँडफाँटमा दुई देशबीच मतभेद कायमै रहेकाले पञ्चेश्वरमा तत्काल निर्णायक प्रगतिको सम्भावना टरेको छ।
खेलकुदमा पनि सहकार्य विस्तार गर्ने नेपालको प्रस्ताव छ। विशेषगरी नेपाली क्रिकेट खेलाडीलाई भारतीय खेलाडीसँग नियमित अभ्यास गर्ने अवसर, प्रशिक्षण र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा समझदारी खोजिनेछ। बाढीपहिरोबाट क्षतिग्रस्त जिल्लाका पूर्वाधार पुनर्निर्माणमा भारतको सहयोग र करिब दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता प्याकेजबारे पनि छलफल हुने अपेक्षा छ।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित ३४ सदस्यीय सरकारी टोली भारत आउँदैछ। छुट्टै ५२ सदस्यीय नेपाली उद्यमी तथा सञ्चारकर्मीको टोली पनि दिल्ली आइपुगेको छ।
अर्थमन्त्री वाग्लेले आइतबारै ताज होटलमा भारतीय तथा नेपाली उद्यमीसँग लगानीका सम्भावनाबारे छलफल गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीलाई नेपाली दूतावासमा ल्याएर नेपाली समुदायसँग भेट गराउने प्रयास भए पनि छोटो कार्यतालिकाका कारण त्यस्तो कार्यक्रम नराखिएको बताइएको छ।










