काठमाडौं। आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडान सञ्चालन गर्न आग्रह गरेका छन्।
उनले बिहीबार यूएईका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयुदीसँगको भेटमा दुबईबाट पोखरामा जस्तै भैरहवामा पनि सिधा उडान सञ्चालनका लागि आग्रह गरेका हुन्।
‘यूएईबाट पोखरामा फ्लाई दुबईको सिधा उडान सुरु भएकोमा प्रशंसा गर्दै मैले भैरहवामा पनि सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गरें,’ ढकालले भने।
फ्लाई दुबईले पोखरामा गत असोज ७ देखि सिधा उडान गर्दै आएको छ। ढकालले यूएईका मन्त्रीसँगको भेट दुई देशको द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउँदै लगानी विस्तार गर्ने विषयमा फलदायी भएको बताए।
उनले नेपालमा जलविद्युत्, कृषि, सूचना प्रविधि र डेटा सेन्टर लगानीका उच्च सम्भावनायुक्त क्षेत्र भएको भन्दै यूएईका लगानीकर्तालाई पैसा हाल्न लगाउन आग्रह गरे। ‘केबलकार र स्की रिसोर्टजस्ता उच्चस्तरीय पर्यटन पूर्वाधारका क्षेत्रमा लगानी गर्न पनि आग्रह गरें,’ उनले भने।
नेपाल र यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुन लागेको सन्दर्भमा सन् २०२७ को स्वर्ण जयन्ती वर्षले दुई देशबीच साझा समृद्धि, साझेदारी र सहकार्यको नयाँ तथा रूपान्तरणकारी अध्याय सुरुवात गर्नेमा आफू आशावादी रहेको ढकालले बताए।










![लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर] लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर]](https://bizmandu.com/wp-content/uploads/2026/11/848804182_1140586615022874_2099901756651918260_n-1-300x300.jpg)