नेपाल रि र हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्यमा वृद्धि एक दिन पनि टिकेन, घट्यो भाउ

बिजमाण्डू
२०८३ कात्तिक १९ गते १६:२१ | Nov 5, 2026
नेपाल रि र हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्यमा वृद्धि एक दिन पनि टिकेन, घट्यो भाउ


काठमाडौं। एकाएक उचालिएको नेपाल रि-इन्स्योरेन्स र हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्य ओरालो लागेको छ।

GBIME
Tata

नेपाल रि-इन्स्योरेन्सको हकप्रद सेयरमा लगानी गर्न मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयलाई सहमति दिएको भोलिपल्ट बुधबार उच्च दरमा वृद्धि भएको दुवै कम्पनीको सेयर भाउ बिहीबार घटेको हो।

नेपाल रिको सेयर मूल्य बुधबार पोजेटिभ सर्किट लागेर प्रति कित्ता ९२१ रुपैयाँमा पुगेकामा बिहीबार २.७० रुपैयाँ घटेको छ। यस्तै, हिमालयन रिको सेयर मूल्य बिहीबार प्रति कित्ता २० रुपैयाँ घटेर ५१४ रुपैयाँमा आइपुगेको छ। बुधबार कम्पनीको सेयर मूल्य प्रति कित्ता ११.४८ प्रतिशतले बढेको थियो।

उच्च दाबीका कारण कम्पनीको दायित्व बढ्दै गएपछि नेपाल रि-इन्स्योरेन्सको हकप्रद सेयरमा सरकारले लगानी गर्ने भएको छ। नेपाल रिको हकप्रदमा सरकारले लगानी गर्ने निर्णयको प्रभाव हिमालयन रिको सेयर मूल्यमा समेत परेको थियो।

नेपाल बीमा प्राधिकरणले रि-इन्स्योरेन्सका लागि चुक्ता पुँजी २० अर्ब रुपैयाँ तोकेकामा दुवै कम्पनी‍ले पुर्‍याएका छैनन्। दुवै कम्पनीले हकप्रद सेयर निष्कासनबाट पुँजी वृद्धि गर्ने योजना यसअघि नै पेस गरिसकेका छन्।

डेढ वर्षअघि सुलभ अग्रवाल र दीपक भट्टले कृतिम माग सिर्जना गरेर एउटै समूहबीचको कारोबार (सर्कूलर ट्रेडिङ) गराइ सेयर मूल्य उचालेका थिए।

हिमालयन रिका सेयरधनीले सर्कूलर ट्रेडिङमार्फत मूल्य उचालेको र सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा जोडिएको बाहिरिएपछि हकप्रद निष्कासनको योजना नै अलपत्र छ।

नेपाल रि-इन्स्योरेन्स कब्जा गर्ने रणनीति अनुसार ६५.२५ प्रतिशत सेयर नियन्त्रणमा लिएका भट्ट-अग्रवालमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धानपछि कम्पनीको सेयर मूल्यमा तीव्र गिरावट आएको थियो।

भट्ट-अग्रवालले हिमालयन लाइफ, गर्डियन, नेपाल माइक्रो, प्रोटेक्टिभ, क्रेस्ट, लिबर्टीसहितका माइक्रो इन्स्योरेन्स र म्युचुअल फण्डको रकम समेत प्रयोग गरेर  नेपाल रि र हिमालयन रिको सेयर मूल्य उचाल्न प्रयोग गरेका थिए।

सर्कूलर ट्रेडिङपछि नेपाल रि-इन्स्योरेन्सको सेयर मूल्य २०८२ भदौ ११ गते १७३१ रुपैयाँसम्म पुर्‍याइएको थियो। त्यसपछि एक वर्षमा निरन्तर ओरालो लागेर कम्पनीको सेयर मूल्य प्रति कित्ता ७५२ रुपैयाँसम्म आएको थियो।

हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्य २०८२ साउन १५ गते ११०३ रुपैयाँ पुगेकामा केही संस्थापक सेयरधनीविरुद्ध मुद्दा दायर भएपछि ४६२ रुपैयाँसम्मआएको थियो।

उच्च दाबी र कर्पोरेट सुशासन नहुँदा नेपाल रिको वित्तीय अवस्था नाजुक छ।