यातायात व्यवसायीको दसैं भयो खल्लो, बाटो बिग्रिँदा पोहोरभन्दा १ लाख कम यात्रु बाहिरिए

शुक्र गिरी
२०८३ कात्तिक १८ गते ०६:३० | Nov 4, 2026
यातायात व्यवसायीको दसैं भयो खल्लो, बाटो बिग्रिँदा पोहोरभन्दा १ लाख कम यात्रु बाहिरिए


काठमाडौं। यातायात व्यवसायीका लागि दसैं कमाउने सिजन भए पनि यो वर्ष उनीहरूले सोचेजस्तो हुन सकेन। अर्थात् उनीहरूले अनुमान गरेअनुसारको व्यापार भएन। यसको कारण हो – सार्वजनिक यातायातमा यात्रा गर्नेको चाप विगतका वर्षमा जस्तो थिएन।

GBIME
Tata

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यसपालि दसैं मनाउन घटस्थापनादेखि विजयादशमीको दिनसम्म काठमाडौं उपत्यकाबाट सडक मार्ग हुँदै सार्वजनिक यातायातका सवारीसाधनमार्फत ५ लाख ७६ हजार ५७८ यात्रु बाहिरिएका थिए।

यो संख्या पोहोरको दसैंको तुलनामा कम हो। पोहोर दसैंमा सार्वजनिक यातायातमार्फत साढे ७ लाखभन्दा बढी मानिसले उपत्यका छाडेका थिए।

त्यस आधारमा यात्रुको संख्या करिब १० लाख पुग्ने र व्यापार राम्रो हुने व्यवसायीहरूको अपेक्षा थियो। तर, बाढीपहिरोले सडकखण्ड बिग्रिएका कारण अनुमान गरेभन्दा कम मानिस उपत्यकाबाट बाहिरिएकाले व्यापार अपेक्षित नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बताए।

‘यसपालि दसैंमा गाउँघर फर्कनेको संख्या नै कम थियो। हामीले १० लाख धेरै मानिस उपत्यकाबाट बाहिरिने अनुमानसहित बस तयारी अवस्थामा राखेका थियौं। तर, बाढी पहिरोका कारणले धेरै मान्छेले यात्रा गरेनन्। त्यसले गर्दा यसपालिको दसैं हाम्रा लागि फ्रुटफुल भएन,’ गौतमले भने।

सामान्य अवस्थामा उपत्यकाबाट दैनिक २०/२२ हजार बाहिरिने र त्यतिकै संख्यामा भित्रिने गरेकामा दसैंको समयमा बाहिरिनेको संख्या बढेर दैनिक ८५ हजारसम्म पुगेको थियो। यस्तै, एक दिनमा ४२ हजार जनासम्म भित्रिएका थिए।

महासंघ अध्यक्ष सरोज सिटौलाले गाडीको संख्या अनुसार यात्रुको आवतजावत कम हुँदा व्यापार घटेको बताए।

‘पहिले-पहिले उत्साहपूर्वक गाउँ जाने वातावरण हुन्थ्यो। यो पटक काठमाडौं छोड्नेहरू कम भए। साथै उपत्यकामा आउनेको संख्या पनि धेरै थिएन। जसले गर्दा हामीले सोचे अनुसारको व्यापार हुन सकेन,’ सिटौलाले भने।

बिपी राजमार्गको रोशीखोला खण्ड।

भाडाका विषयमा सरकारसँग सहमति भएका कारण बढाउन रोकियो। छठसम्म भाडा नबढाउने सहमति छ। त्यसैले यसले व्यवसायीको कमाइमा असर गरेको गौतम बताउँछन्।

दसैंअघि असोज दोस्रो साता ४ दिन अविरल वर्षाका कारण देशका प्रमुख राजमार्गमा धेरैतिर क्षति भएको थियो। सडक खुलाइए पनि राम्रोसँग मर्मत गरिएको थिएन। जसले गर्दा लामो दूरीका गाडी गन्तव्यमा पुग्न र फर्कन धेरै समय लाग्यो।

दसैं मानेर फर्किएकालाई पनि मौसमी मार पर्‍यो। मुख्य राजमार्गहरूमा गत शुक्रबार र शनिबारको अचानकको वर्षा र बाढीले आवागमन असहज बनायो। बिपी राजमार्ग खण्डमा डाइभर्सन बगाउँदा एक दिन आवागमन ठप्प नै भएको थियो भने कान्ति राजपथमा पनि वर्षाले बाधा पारेको थियो।

‘दसैंका बेला काठमाडौंबाट बाहिरिने गाडी भरिभराउ भए पनि उपत्यकामा रित्तै आउनुपर्ने बाध्यता थियो। धेरै व्यवसायी वान वे मात्रै सवारीसाधन चलाउन बाध्य भए। बाटोमा जामले गर्दा इन्धन र श्रमिक खर्च बढी लाग्यो,’ सिटौलाले भने, ‘एकातिर बाटोको अवस्थाले गर्दा यात्रुको संख्या घट्यो भने अर्कातिर हाम्रो संचालन खर्च बढ्यो। बाटोमा धेरै समय लागेपछि ट्रिप संख्या पनि घटेका कारण यसपालिको दसैं हामी यातायात व्यवसायीका लागि खासै सुखद रहेन।’