काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजारमा संस्थागत लगानीकर्तामार्फत लगानी बढाउने नीति लिएको छ। सेबोनले ठूलो फण्ड परिचालन क्षमता भएका संस्थागत लगानीकर्ताको लगानी बजारमा बढाउने नीति लिएको हो।
सेबोनले बजारमा संस्थागत लगानी विस्तार गर्न संस्थागत लगानीकर्ता नीति ल्याएको छ। बजारमा संस्थागत लगानीकर्तामार्फत दीर्घकालीन लगानी परिचालनका लागि नयाँ उपकरण ल्याएर संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्न लागिएको हो।
सरकारी अवकाश कोष, बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी, इन्भेष्टमेन्ट कम्पनी र सामूहिक लगानी कोषको रकम बजारमा बढाउने नीतिमा उल्लेख छ।
संस्थागत लगानीकर्तालाई इक्विटी बजारसँगै स्थिर आय भएको बजारको प्रमुख सहभागीकर्ता बनाउन सरकारी धितोपत्र बजार, संस्थागत डिबेञ्चर, संस्थागत बण्ड, पूर्वाधार बण्ड, हरित बण्ड, दिगो विकासमुखी ऋणपत्र र म्युनिसिपल बण्डमा लगानीको बाटो खुलाउन लागिएको छ।
सेबोनले संस्थागत लगानीकर्ताको पोर्टफोलियो विविधिकरणका लागि सामूहिक लगानी कोष, इटीएफ, इन्डेक्स फण्ड, सेक्टर फण्ड बण्ड फण्डमा लगानीका लगानी गर्न दिने बताएको छ।
इन्स्योरेन्स कम्पनीलाई योग्य बीमा संस्थागत लगानीकर्ताका रूपमा वर्गीकरण गर्न लागिएको छ। संस्थागत लगानीकर्तालाई धितोपत्र वित्तीय सेवामा सहभागी गराउन लागिएको छ।
संस्थागत लगानीकर्तालाई धितोपत्र सापटी तथा उधारो (एसएलबी) धितोपत्र लेण्डिङ बजारको प्रमुख आपूर्तिकर्ता बनाउने नीतिमा उल्लेख छ। यसबापत कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र म्युचुअल फण्ड जस्ता लगानीकर्ताले आफूसँग भएको सेयर कारोबार नगरी उधारोमा दिएर समेत आम्दानी गर्न सक्नेछन्।
यस्तै संस्थागत लगानीकर्तालाई सर्ट सेलिङ, इन्ट्राडे कारोबारमा समेत सहभागी गराएर मार्केट मेकर बनाउने सेबोनको नीतिमा उल्लेख छ।
सेबोनले संस्थागत लगानीकर्तालाई लगानीका लागि जलविद्युत, विद्युत प्रसारण तथा वितरण, नवीकरणीय उर्जा, पर्यटन पूर्वाधार, सूचना तथा सञ्चार प्रविधिलाई प्राथमिकता दिने गरी नीति बनाएको छ। उत्पादनमूलक क्षेत्र, पूर्वाधार, हरित परियोजना, निर्यातमूखी उद्योग र साना तथा मझौला विकासोन्मुख कम्पनीमा लगानीका लागि प्राथमिकतामा राखिएको छ।
सेबोनले संस्थागत लगानीकर्तालाई विभिन्न पाँच वर्गमा छुट्याएको छ। सेबोनले लगानी क्षमताका आधारमा संस्थागत लगानीकर्तालाई पाँच वर्गमा वर्गीकरण गरेको हो। नियमनको दायरामा रहेका वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र वित्तीय तथा धितोपत्रमा लगानीसम्बन्धी कार्य गर्ने संस्थालाई क वर्गमा राखिएको छ।
दीर्घकालीन बचतमा आधारित संस्थागत लगानीकर्ता कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, अन्य अवकाश कोष र दीर्घकालीन बचत परिचालन गर्ने कोषलाई ख, बीमा कम्पनीलाई ग, म्युचुअल फण्ड, इन्भेष्टमेन्ट कम्पनी, एक्सचेन्ज ट्रेडेड फण्ड, सूचकांकमा आधारित लगानी कोष, घरजग्गा लगानी कोष र अन्य सामूहिक लगानी योजनालाई घ वर्गका संस्थागत लगानीकर्तामा समेटिएको छ।
यस्तै, सेबोनले सार्वभौम/रणनीतिक कोष, विकास वित्त संस्था, विदेशी संस्थागत लगानीकर्ता र योग्य विदेशी पेन्सन लगानी कोष र अन्य दीर्घकालीन संस्थागत पुँजी प्रदायक संस्थालाई ङ वर्गमा वर्गीकरण गरेर लगानी परिचालनको नीति बनाएको छ।









