तेस्रो राष्ट्रिय एआई समिट कात्तिक २१ गते काठमाडौंमा हुँदै, अन्तर्राष्ट्रिय विज्ञसहितको सहभागिता रहने

बिजमाण्डू
२०८३ कात्तिक १३ गते २२:२१ | Oct 30, 2026
तेस्रो राष्ट्रिय एआई समिट कात्तिक २१ गते काठमाडौंमा हुँदै, अन्तर्राष्ट्रिय विज्ञसहितको सहभागिता रहने


काठमाडौं। एआईको विकास र प्रयोगबाट नेपालले लिन सक्ने अवसर, आवश्यक पूर्वाधार तथा नीतिगत प्राथमिकताबारे छलफल गर्न आगामी कात्तिक २१ गते काठमाडौंमा तेस्रो राष्ट्रिय एआई समिट आयोजना हुने भएको छ।

GBIME
Tata

डिजिटल मिडिया फाउन्डेसनको आयोजनामा हुन लागेको ‘नेसनल एआई समिट २०२६’ यस वर्ष ‘फ्रम प्रमिस टु प्रोग्रेसः अपस्केलिङ नेपाल्स एआई क्यापासिटी’ भन्ने मूल नारामा केन्द्रित हुनेछ।

समिटमा नेपालसहित अमेरिका, बेलायत, जापान र सिंगापुरमा कार्यरत एआई तथा प्रविधि क्षेत्रका विज्ञ, नीतिनिर्माता, अनुसन्धानकर्ता, उद्यमी र विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी हुने कार्यक्रम छ।

अन्तर्राष्ट्रिय मुख्य वक्ताका रूपमा संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा एआई र साइबर सुरक्षा नीतिविज्ञ निक एस्टन–हार्टले सम्बोधन गर्ने कार्यक्रम छ। उनले विश्वव्यापी एआई प्रतिस्पर्धा, प्रविधिमा बढ्दो शक्ति केन्द्रीकरण र नेपालजस्ता विकासशील मुलुकका रणनीतिक विकल्पबारे धारणा राख्नेछन्।

अन्तर्राष्ट्रिय सत्र ‘द न्यु एआई ल्यान्डस्केपः ग्लोबल सिफ्ट्स, नेपाल्स स्ट्राटेजिक च्वाइसेस’ मा बेलायतको युनिभर्सिटी अफ योर्कका पूर्वप्राध्यापक तथा वाइज्याकका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. सुरेश मानन्धर र सिंगापुरस्थित एआई एसिया प्यासिफिक इन्स्टिच्युटका बोर्ड अध्यक्ष डा. पिटर ब्रिम्बल सहभागी हुने कार्यक्रम छ।

उक्त सत्रमा विश्वव्यापी एआई विकासका नयाँ प्रवृत्ति, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको स्थान, प्रविधिमा परनिर्भरता घटाउने उपाय तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनाबारे छलफल हुनेछ।

समिटमा नेपालको जलविद्युत् क्षमतालाई एआई पूर्वाधार विकाससँग जोड्ने विषयलाई विशेष प्राथमिकता दिइएको छ। ‘पावरिङ नेपाल्स एआई एम्बिसनः फ्रम हाइड्रोपावर टु हाईपर्फर्मेन्स कम्प्युटिङ’ शीर्षकको सत्रमा अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलाइना ग्रिन्सबोरोका प्रा. डा. निर क्षेत्री र नेपाल एप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) की कार्यकारी निर्देशक सन्ध्या सिटौलालगायतका विज्ञले छलफल गर्नेछन्।

यस सत्रमा उच्च क्षमताका कम्प्युटिङ प्रणाली, डेटा सेन्टर, जलविद्युत् उपयोग, क्लाउड सेवा, डिजिटल पूर्वाधारमा लगानी तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको सम्भावनाबारे विमर्श हुनेछ।

त्यसैगरी ‘फ्रम लर्निङ टु अर्निङः एआई एजुकेसन, स्किल्स, इनोभेसन एन्ड फाइनान्सियल ट्रान्सफर्मेसन’ शीर्षकको सत्रमा एआई शिक्षा, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन र वित्तीय क्षेत्रको रूपान्तरणबारे छलफल हुनेछ। यसमा जापानको वासेदा विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. विकास लम्साल र एक्वोर एलएलसीका सहसंस्थापक सन्दीप आचार्यलगायतका विज्ञ सहभागी हुनेछन्।

समिटअन्तर्गत ‘मेड इन नेपालः सोकेसिङ होमग्रोन एआई इनोभेसन्स’ शीर्षकमा नेपालमै विकसित एआई परियोजना तथा नवप्रवर्तनको विशेष प्रस्तुति पनि हुनेछ। यसमा नेपाली अनुसन्धानकर्ता तथा प्रविधि विकासकर्ताले आफ्ना परियोजना, तिनको व्यावहारिक प्रयोग र विस्तारका सम्भावनाबारे जानकारी गराउनेछन्।

डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदीका अनुसार नेपालमा एआईको सम्भावनाबारे चर्चा बढ्दै गए पनि त्यसलाई आर्थिक तथा सामाजिक उपलब्धिमा रूपान्तरण गर्न आवश्यक पूर्वाधार, जनशक्ति र संस्थागत क्षमतामा पर्याप्त लगानी हुन सकेको छैन।

यस वर्षको समिटले एआईसम्बन्धी नीतिगत छलफललाई व्यावहारिक कार्यान्वयनसँग जोड्दै नेपालको आफ्नै क्षमता विकास, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यका सम्भावना पहिचान गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।

डिजिटल मिडिया फाउन्डेसनले सन् २०२४ देखि राष्ट्रिय एआई समिट आयोजना गर्दै आएको छ। पहिलो समिटमा सञ्चारमाध्यम, सार्वजनिक सेवा र सुशासनमा एआईको प्रयोगबारे छलफल भएको थियो भने सन् २०२५ को दोस्रो समिटमा एआई र विकास, वित्तीय सेवा, स्वास्थ्य, मिथ्या सूचना तथा प्रविधि नीतिलगायतका विषय समेटिएका थिए।