काठमाडौं। कर्णाली याक्सले जनकपुरसामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत मंगलबारको दोस्रो खेलमा सुरुवाती ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीलाई सुरुबाटै जनकपुरका बलरले दबाबमा राखे। यसक्रममा अरिफुल इस्लामले सर्वाधिक ४३, पवन सर्राफले ३७ र दीपक डुम्रेले १३ रन बनाए।

घातक बलिङ गर्ने क्रममा कप्तान हरमित सिंहले सर्वाधिक ३ विकेट लिए। अघिल्लो सिजन सुदूरपश्चिमबाट खेलेका सिंहले यसपालि जनकपुरको कप्तानी सम्हालिरहेका छन्।
जनकपुरको सरप्राइज खेलाडीका रुपमा १६ वर्षिय राहुल यादव रहे। उनले आफ्नो ४ ओभर बलिङ गर्दै मात्रै १५ रन दिएर २ विकेट लिए।

त्यस्तै, विश्व क्रिकेटमा चर्चित अलराउण्डर मोइन अलीले पनि २ विकेट लिए। महँगो बनेका ललित राजवंशीको नाममा १ विकेट रह्यो।
जनकपुर जवाफी ब्याटिङमा उत्रिँदैछ।









