रसेलको विस्फोटक ब्याटिङले टरेन विराटनगरको हार, मोमेन्टम फेर्दै चितवन विजयी

बिजमाण्डू
२०८३ कात्तिक १० गते १६:२१ | Oct 27, 2026
रसेलको विस्फोटक ब्याटिङले टरेन विराटनगरको हार, मोमेन्टम फेर्दै चितवन विजयी
चितवन विरुद्ध विराटनगरको ब्याटिङ। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू


काठमाडौं। विराटनगर किंग्स चितवन राइनोजसँग पराजित भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवनले विराटनगरलाई ८ रनले हराएको हो।

GBIME
Tata

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ उत्रिएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको विराटनगर इनिङ्सको ३ बल बाँकी छँदा १४९ रनमा अलआउट भयो।

१०.५ ओभरमा ८७-३ को सहज स्थितिमा रहेको विराटनगरले त्यसपछि लगातार विकेट गुमाउँदा चितवनले खेलमा बाजी मार्न सफल भएको हो।

जितपछि चितवन राइनोजका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

विराटनगरका लागि आन्द्रे रसेल र इमरान शेखले इनिङ्स उकास्ने प्रयास गरे पनि सफल हुन सकेनन्।  ओपनर शेखले ३१ बलमा ३९ रन बनाउँदा रसेलले १७ बलमा ३३ रन बनाउने क्रममा १ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै, लोकेस बमले २६ तथा एनगोलो म्याथ्युजले १४ रन बनाए। बलिङमा चितवनका कमलसिंह ऐरीले ४ विकेट लिँदै विराटनगरलाई धराशायी बनाउँदा रिजन ढकालले २ तथा टम टेइलर, रञ्जित कुमार, डान मौसेली र मौसम ढकालले समान १ विकेट लिए।

त्यसअघि ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले हेभिवेट खेलाडी आन्द्रे रसेलदेखि एनगोलो म्याथ्युजसम्मलाई उतार्‍यो। चितवनका नियमित कप्तान कुशल मल्ल प्लेइङ ११ मा नआउँदा कप्तानको जिम्मेवारी रवि वोपाराले लिए। पहिलो इनिङ्समा बलिङदेखि ब्याटिङसम्म विदेशी खेलाडीको वर्चस्व रह्यो।

चितवनको इनिङ्स उकास्न डेविड मलानले सर्वाधिक ७० रनको योगदान दिए। उनले ५० बलमा समान ५ चौका र छक्का प्रहार गरे। त्यस्तै रवि बोपाराले अविजित ३२ रन बनाउँदा डान मौस्ले २९ रनमा अविजित रहे।

बलिङमा आन्द्रे रसेल, एनगेलो म्याथ्युज र चरिथ असलंकाले समान १ विकेट लिए।

आजै दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन्।