अटो व्यवसायीले दसैंमा डेलिभरी गरे ३ हजारभन्दा धेरै गाडी, बाँकी ग्राहकले तिहारअघि पाउने

बिजमाण्डू
२०८३ कात्तिक ९ गते १९:५४ | Oct 26, 2026
अटो व्यवसायीले दसैंमा डेलिभरी गरे ३ हजारभन्दा धेरै गाडी, बाँकी ग्राहकले तिहारअघि पाउने


काठमाडौं। चीनसँगका मुख्य दुई नाका बन्द र तेस्रो नाका प्रभावित हुँदा पनि अटो व्यवसायीहरुले ३ हजारभन्दा धेरै गाडी डेलिभरी गरेका छन्।

GBIME
Tata

नाइमा एक्स्पो र नाडा अटो शोमा बुकिङ गराएका ग्राहकलाई व्यवसायीले प्रतिकूलताका बीच पनि ३ हजारभन्दा धेरै गाडी डेलिभरी गरेका हुन्।

नाइमा र नाडामा बुकिङ गराएका ग्राहकले डोङफेङ नामी, चांगन डिपल, जेको, आइकार, बीवाइडी, टाटा, लिपमोटरलगायत ब्रान्डका गाडी ग्राहकले पाएका छन्। गाडी बिक्रीका हिसाबले दसैं पिक सिजन मानिन्छ।

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले दसैंमा करिब ७०० युनिट गाडी डेलिभरी गरेको छ। कम्पनीले नाडा अटो शोपछि दसैंसम्म करिब १ हजार युनिट गाडी छुटाएको जनाएको छ। दसैंको नवमीसम्म ग्राहकलाई गाडी डेलिभरी गरिएको कम्पनीको भनाइ छ।

चीनबाट गाडी ल्याउने मुख्य नाका भदौ १० गतेको बाढीले ध्वस्त भएको थियो भने तातोपानी नाका भदौ १४ देखि चीनले नै अकस्मात बन्द गरेको थियो। यस्तै तेस्रो नाका कोरला असोज ८-११ को वर्षापछि आएको बाढी पहिरोका कारण दुई सातासम्म बन्द भएपछि व्यवसायीहरु दबाबमा परेका थिए।

उनीहरुले ढुवानीमा धेरै खर्च गरेर भए पनि ग्राहकलाई गाडि उपलब्ध गराएका हुन्। सामान्य अवस्थामा प्रति किलोमिटर २० देखि २५ रुपैयाँसम्म ढुवानी भाडा लिने चालकले यसपालि दर बढाएको व्यवसायीहरुको भनाइ छ।

नामी र डिपलको आधिकारिक बिक्रेता एमएडब्लू ग्रुपले पनि दसैंमा उल्लेख्य संख्यामा गाडी डेलिभरी गरेको छ। कम्पनीले डिपल गाडी २३० वटा गाडी डेलिभरी गरेको छ। केही गाडी अष्टमीको दिन मात्रै काठमाडौं आइपुगेका कारण अब डेलिभरी गर्ने कम्पनीले बताएको छ।

कम्पनीले नाडा अटो शोपछि दसैंसम्म नामीका ५०० भन्दा बढी गाडी डेलिभरी गरेको छ। पोहोर दसैंका बेला पनि कम्पनीले नामीका करिब ५०० गाडी बिक्री गरेको थियो।

टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शोपछि दसैंसम्म १ हजार १८५ युनिट गाडी डेलिभरी गरेको जनाएको छ। दसैंको समयमा कम्पनीका केही मोडलको स्टक सकिएको छ।

कम्पनीले विशेषगरी पन्च इभी मागअनुसार उपलब्ध गराउन सकेन। पन्च इभी नपाएपछि केही ग्राहक नेक्सन इभी रिलोडेडतर्फ गएको कम्पनीले जनाएको छ। भारतबाटै पर्याप्त गाडी आपूर्ति हुन नसकेको कम्पनीको भनाइ छ।

ओमोडा एन्ड जेको, चेरी र आइकारको आधिकारिक बिक्रेता शारडा ग्रुपले दसैंअघि ओमोडा एन्ड जेको र आइकारका ३०० भन्दा बढी गाडी डिलरमार्फत डेलिभरी गरेको छ। तर, चीनबाट समयमै गाडी ल्याउन नसक्दा चेरीका गाडी भने दसैंमा डेलिभरी गर्न नसकिएको कम्पनीको भनाइ छ।

यसैगरी आर्कफक्सका ३९ वटा गाडी नेपाल ल्याइएकामा केही युनिट मात्रै डेलिभरी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ। अटो शोपछि टोयोटाका करिब ४० युनिट गाडी डेलिभरी भएका छन्।

लिपमोटरका गाडी फूलपाती र अष्टमीको दिनमा गरी करिब ६० वटा ग्राहकलाई हस्तान्तरण गरिएको बिक्रेता कम्पनीले जनाएको छ। कम्पनीका अनुसार थप २०० वटा गाडी काठमाडौं ल्याउने क्रममा छन्। ती गाडि तिहारअघि ग्राहकलाई उपलब्ध गराउने कम्पनीको योजना छ।

प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले दसैंमा १११ युनिट गाडी डेलिभरी गरेको छ। कम्पनीले दसैंअघि नै १५० वटा गाडी भन्सार पास गराएको थियो। त्यस्तै, दसैंका बेला सीजी मोटर्सले जीएसी आयोनका ४० वटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ।

तर, केही ब्रान्डका बिक्रेताले समयमै नेपाल ल्याउन नसक्दा बुकिङ गरेका ग्राहकले दसैंमा गाडी पाउन सकेनन्। विशेषगरी कोरला नाकाबाट गाडी ल्याउन कठिनाइ भएपछि कम्पनीहरुले डेलिभरीको समय तालिका नै परिवर्तन गर्नुपरेको छ।

एमजीको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले अपेक्षाअनुसार गाडी डेलिभरी गर्न सकेन। बाटोको समस्याले गाडी समयमै नेपाल ल्याउन नसकिएको र नेपाल आइपुगेका गाडीको प्रि-डेलिभरी इन्स्पेक्सन (पीडीआई) गर्न पनि समय लागेको कम्पनी स्रोतले जनाएको छ।

स्रोतका अनुसार ग्राहकलाई बैंकबाट जारी भएको डेलिभरी अर्डर (डीओ) र बीमा प्रक्रियामा समेत समस्या देखिएको थियो। दर्ता प्रक्रिया पूरा नभएका गाडीसमेत जोखिम मोलेर डेलिभरी गरिएको कम्पनी स्रोतको भनाइ छ।

कम्पनीका अनुसार दसैंअघि एमजीका १५० वटा गाडी नेपाल आइपुगेका थिए। साढे २०० गाडी अझै कोरला भन्सार नाकामा रोकिएका छन्। ती गाडी तिहारअघि डेलिभरी गर्ने कम्पनीको योजना छ।

कोरला भन्सार यार्डमा अझै साढे ५०० वटा गाडी रोकिएका छन्। लोमन्थाङ क्षेत्रमा हिमपातको सम्भावना बढेपछि ती गाडी जोमसोममा ल्याएर राख्न थालिएको छ।