पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘आरएनपी-एआर’ प्रणाली लागू गरिँदै, कम भिजिबिलिटीमा उडान गर्न मिल्ने

बिजमाण्डू
२०८३ असोज ३० गते ०७:२८ | Oct 16, 2026
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘आरएनपी-एआर’ प्रणाली लागू गरिँदै, कम भिजिबिलिटीमा उडान गर्न मिल्ने


गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ (रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथराइजेसन रिक्वायर्ड) प्रणाली लागू गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक प्राविधिक अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ।

GBIME
Tata

हाल यस विमानस्थलमा ‘भिओआर/डिएमई’ तथा ‘आइएलएस’ प्रणालीमा आधारित हवाई उडान हुँदै आएको छ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले ‘आरएनपी–एआर’ प्रणाली लागू भएपछि कम दृश्ययता (भिजीबिलिटी) हुँदा पनि हवाई उडान हुने बताए। अहिले पोखरामा तीन हजार १०० मिटर दृश्यतामा विमान उडान तथा अवतरण भइरहेकामा उक्त प्रणाली लागू भएपछि दुई हजार मिटर दृश्यतामा उडान हुने उनको भनाइ छ।

‘यो प्रणालीको मुख्य फाइदा भनेको नै कम भिजीबिलिटीमा उडान अवतरण हुनु हो। यसबाट उडान रद्द हुने, डाइभर्सन हुनेजस्ता समस्या कम हुन्छ,’ उनले भने।

आगामी चार महिनाभित्रमा उक्त प्रणाली कार्यान्वयनमा ल्याउनेगरी प्राधिकरणले प्रक्रिया अगाडि बढाएको महाप्रबन्धक निरौलाले बताए।

सो प्रणाली संचालनका लागि जहाजमा पनि सोहीअनुसारको उपकरण जडान गर्नुपर्ने र विमान चालकले तालिम लिनुपर्ने उनको भनाइ छ।

यो प्रणाली कार्यान्वयनमा आएपछि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान थप सहज हुने जनाइएको छ। आवश्यक प्राविधिक तथा नियमाकीय प्रक्रिया पूरा गरी उक्त प्रणाली कार्यान्वयनमा आउने प्राधिकरणले जनाएको छ।

यसबाट हवाई उडान संचालनको सुरक्षा, नियमितता र पूर्वानुमानयोग्य उडान हुने विश्वास लिइएको छ। कम दृश्यताका कारण हवाई उडान संचालनमा आउने अवरोध न्यूनीकरण र यात्रुलाई थप भरपर्दो हवाई सेवा प्रदान हुने जनाइएको छ। रासस