चाडको कार्बन लेखा : चाडपर्वलाई चक्रीय अर्थतन्त्रको प्रयोगशाला बनाऔँ

अर्पण पौडेल
२०८३ असोज २९ गते ०६:१६ | Oct 15, 2026
चाडको कार्बन लेखा : चाडपर्वलाई चक्रीय अर्थतन्त्रको प्रयोगशाला बनाऔँ


दसैंमा घर सजाउँदा, तिहारमा झिलिमिली बत्ती बाल्दा, मिठामिठा परिकार बनाउँदा र उपहार साटासाट गर्दा हामीले एउटा कुरा कति सम्झन्छौँ, यी उत्सवले प्रकृतिमाथि कति भार थपिरहेका छन्? चाडपर्वको खुसीसँगै बढ्ने उपभोग, खाद्यान्नको बर्बादी, प्लास्टिकको थुप्रो र ऊर्जाको खपतले कार्बन उत्सर्जन पनि बढाउँछन्। तर उत्सवको रौनक नघटाइ वातावरणीय जोखिमको भार कम गर्न सकिन्छ? उपाय हाम्रै घर र व्यवहारबाट सुरु हुन्छ।

GBIME
Tata

कार्बन प्रकृतिमा पाइने आधारभूत तत्व हो र यो वायुमण्डल, वनस्पति, माटो तथा जीवित प्राणीमा प्राकृतिक रूपमा चक्रीय रूपमा रहने गर्छ। तर मानव गतिविधिबाट अत्यधिक मात्रामा निस्कने कार्बन डाइअक्साइडजस्ता हरितगृह ग्यासले जलवायु परिवर्तनलाई तीव्र बनाइरहेका छन्। चाडपर्वका समयमा हुने यात्रा, सवारीसाधनको प्रयोग, विद्युत् खपत, पटका, सजावटका सामग्री तथा बढ्दो फोहोरले पनि कार्बन उत्सर्जन थप्न सक्छ।

त्यसैले चाडपर्वको सांस्कृतिक र सामाजिक महत्त्व कायम राख्दै कम कार्बन उत्सर्जन हुने व्यवहार, सार्वजनिक यातायात, स्थानीय सामग्री, स्वस्छ ऊर्जामा आधारित बत्ती र पुनःप्रयोगयोग्य वस्तुको प्रयोगलाई प्राथमिकता दिन आवश्यक छ। यसरी उत्सव मनाउने हाम्रो शैलीमा सानो परिवर्तनले पनि वातावरण संरक्षणमा ठूलो योगदान पुर्‍याउन सक्छ।

चाडपर्व आउँदा हामी घर सफा गर्छौँ। नयाँ कपडा किन्छौँ। मिठाई र मासु किन्छौँ। घर सजाउँछौँ। आफन्तलाई उपहार दिन्छौँ। पूजा गर्छौँ। भोज गर्छौँ। अनि केही दिनपछि? फोहोरको थुप्रो बढ्छ। यहीँबाट एउटा असहज प्रश्न सुरु हुन्छ, हामीले चाड मनाइरहेका छौँ कि स्रोतको ठूलो मौसमी खपत गरिरहेका छौँ? यो प्रश्न धर्म, संस्कृति वा परम्पराको विरोध होइन, बरु परम्परालाई कति बुद्धिमानीपूर्वक भविष्यमा लैजान सकिन्छ भन्ने प्रश्न हो।

नेपाल विश्वव्यापी जलवायु संकटको मुख्य जिम्मेवार होइन। सरकारले संयुक्त राष्ट्रसंघमा बुझाएको राष्ट्रियस्तरमा निर्धारित योगदान (एनडीसी ३.०) ले पनि विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको ऐतिहासिक तथा वर्तमान योगदान तुलनात्मक रूपमा सानो रहेको देखाउँछ। तर त्यसको अर्थ हामी जलवायु संकटबाट बाहिर छौँ भन्ने होइन।

हिमाल पग्लिरहेका छन्, वर्षाको ढाँचा बदलिरहेको छ, बाढी-पहिरोको जोखिम बढिरहेको छ। त्यसैले हामीसँग एउटा सुविधाजनक तर्क छ, ‘हामीले त संसारको तुलनामा केही पनि उत्सर्जन गर्दैनौँ, मेरो घरको एउटा प्लास्टिकको झोलाले के फरक पार्छ?’

विश्वव्यापी जिम्मेवारीको हिसाबले यो तर्कमा केही सत्यता छ, तर स्थानीय जीवनको हिसाबले यो खतरनाक छ। किनकि जलवायु संकट केवल कार्बन डाइअक्साइडको विश्वव्यापी हिसाब होइन। यो हाम्रो सहरको हावा, खोलाको अवस्था, फोहोरको थुप्रो, आयातमा जाने पैसा र अन्ततः हाम्रो स्वास्थ्य र अर्थतन्त्रसँग जोडिएको प्रश्न पनि हो।

हाम्रा पुर्खाको चाड सायद हामीभन्दा बढी ‘चक्रीय’ थियो। आज हामी ‘चक्रीय अर्थतन्त्र’लाई आधुनिक आर्थिक अवधारणाजस्तो प्रस्तुत गर्छौँ, तर यसको आधारभूत दर्शन हाम्रो समाजका पुराना चाडपर्वमा पहिल्यै थियो। पातका टपरी थिए। माटाको पाला (दियो) थिए। माटोको लिपपोत र कमेरो अनि चुनाको रङरोगन थियो। स्थानीय अन्न थियो। घरमै तयार हुने सामग्री थिए। जमरा थिए। बाँकी जैविक वस्तु माटोमै फर्किन्थ्यो। अर्थात् वस्तु उत्पादनदेखि उपभोग र पुनःप्रयोगसम्मको चक्र स्थानीय थियो।

आधुनिक चाडले त्यो चक्र भत्काएको छ। प्लास्टिकका माला, एकपटक प्रयोग हुने सजावट, पोलिथिनमा बेरिएका उपहार, टाढाबाट ल्याइएका फूल, आयातित खाद्यवस्तु र प्रयोगपछि तुरुन्तै फालिने सामग्रीले चाडलाई ‘लिने–प्रयोग गर्ने–फाल्ने’ रेखीय अर्थतन्त्रको उत्सव बनाइरहेका छन्। विडम्बना के हो भने हामीले परम्परा छोडेका होइनौँ। हामीले परम्पराको वरिपरिका सामग्री बदल्यौँ र ती सामग्रीले प्राकृतिक चक्र तोडे।

सबैभन्दा ठूलो कार्बन प्रश्न सायद हाम्रो भान्सामै छ। जलवायु बहस गर्दा हामी प्रायः गाडी, उद्योग र बिजुलीको कुरा गर्छौँ, तर हाम्रो घरबाट निस्कने जैविक फोहोरको कुरा कम गर्छौँ। एसियाली विकास बैंकले गरेको नेपालमा फोहोरमैला व्यवस्थापन सम्बन्धी एउटा अध्ययनले घरेलु फोहोरमा जैविक फोहोरको अंश करिब ६६ प्रतिशत रहेको देखाएको छ। प्लास्टिकजन्य फोहोरको हिस्सा करिब १२ प्रतिशत र कागज तथा कागजजन्य सामग्रीको फोहोर करिब ९ प्रतिशत रहेको देखाएको छ।

चाडका बेला भोज, फलफूल, फूलमाला र पूजाका सामग्री थपिँदा जैविक फोहोरको मात्रा अझै बढ्ने नै भयो। चाडकै अवधिको फोहोरको ठोस मापन नभइसकेको भए तापनि उपलब्ध तथ्यले एउटा महत्त्वपूर्ण संकेत गर्छन्। हाम्रो फोहोरको ठूलो हिस्सा ‘फोहोर’ होइन, गलत ठाउँमा पुगेको स्रोत हो। जब त्यही जैविक वस्तु ल्यान्डफिलमा पुग्छ, अक्सिजनविहीन अवस्थामा कुहिँदा मिथेनजस्तो शक्तिशाली हरितगृह ग्यास उत्पन्न हुन्छ।

ल्यान्डफिल सम्बन्धी एउटा मोडेलिङ अध्ययनले ग्यास संकलन, कम्पोस्टिङ र पुनःचक्रणका विभिन्न परिदृश्यमा मिथेन उत्सर्जन घटाउन सकिने देखाएको थियो। तीनवटै उपाय सँगसँगै प्रयोग गर्दा अध्ययनको मोडेलमा उल्लेख्य मात्रामा मिथेन उत्सर्जनमा कमी देखिएको थियो। यसलाई राष्ट्रिय औसत मान्न मिल्दैन। त्यो एउटा ल्यान्डफिलमा आधारित मोडेल हो। यसको नीतिगत सन्देश भने स्पष्ट छ, जैविक फोहोर छुट्याउनु कुनै ‘सानो वातावरणीय बानी’ मात्र नभई सहरी जलवायु नीतिको महत्त्वपूर्ण हिस्सा हो। त्यसैले नेपालमा चक्रीय अर्थतन्त्रको बहस गर्दा हामीले प्लास्टिक पुनःचक्रणमा मात्र अडिनु हुँदैन। पहिलो प्रश्न हुनुपर्छ, जैविक चक्र कसरी बन्द गर्ने? कम्पोस्ट, बायोग्यास र माटोमा फर्किने प्रक्रियालाई कसरी सक्रिय गर्ने?

चाडको थालीमा पनि ‘कार्बन’ लुकेको हुन्छ। हामी कुनै वस्तु किन्छौँ र त्यसको मूल्य तिर्छौँ, तर त्यसको वास्तविक वातावरणीय मूल्य प्रायः बिलमा देखिँदैन। खसी कहाँबाट आयो? फूल कहाँ उत्पादन भयो? उपहारको बाकस कहाँ बन्यो? फलफूल कति टाढाबाट ल्याइयो? त्यो सामान ल्याउन कति इन्धन जल्यो? यिनै प्रश्नले हाम्रो थाली र बजारको ‘लुकेको दूरी’ देखाउँछन्।

दसैंमा मासुको माग ठूलो हुन्छ र विगतका तथ्यांकले यसको उल्लेख्य हिस्सा आयातमा निर्भर रहेको देखाएका छन्। पछिल्ला वर्षहरूमा भने देशभित्रै उपलब्धता बढेको संकेत पनि देखिन्छ। यसलाई केवल ‘देशी तथा विदेशी’ बहसमा सीमित गर्नु आवश्यक छैन। मूल प्रश्न हो, हामीले सकेसम्म नजिकको उत्पादन रोज्न सक्छौँ कि सक्दैनौँ?

स्थानीय उत्पादन रोज्दा ढुवानीसँग जोडिएको उत्सर्जन घटाउने सम्भावना हुन्छ। त्यति मात्र होइन, पैसा स्थानीय किसान, व्यवसाय र श्रममा रहन्छ। त्यसैले ‘स्थानीय किनौँ’ केवल देशभक्ति होइन। यो आपूर्ति शृंखला छोट्याउने आर्थिक र वातावरणीय रणनीति पनि हो। फूलको कथा पनि उस्तै छ। तिहारमा ठूलो परिमाणमा माला आवश्यक पर्छ। विगतका अनुमानले स्वदेशी उत्पादनले मागको ठूलो हिस्सा धान्ने भए पनि केही हिस्सा भारतबाट आयात हुने देखाएका छन्।

तर यहाँ पनि एउटा सकारात्मक प्रश्न छ, यदि बजारको माग छ भने, के हामी स्थानीय उत्पादनलाई त्यति सक्षम बनाउन सक्छौँ कि अर्को वर्ष कम फूल आयात गर्नुपरोस्?

यहीँ चक्रीय अर्थतन्त्रको अर्को अर्थ खुल्छ। चक्र भनेको केवल फोहोर पुनःप्रयोग गर्नु होइन; स्थानीय उत्पादन, स्थानीय रोजगारी, स्थानीय बजार र स्थानीय स्रोतबीचको सम्बन्ध बलियो बनाउनु पनि हो।

पटाका क्षणिक रमाइलोका लागि दीर्घकालीन मूल्य चुकाउनुपर्ने मनोरञ्जन हो। पटाकाको विषयमा बहस गर्न धेरै ठूलो कार्बन गणित चाहिँदैन। पटाका पड्काउँदा क्षणभर आकाश उज्यालो हुन्छ, तर त्यससँगै धुवाँ, सूक्ष्म कण, रसायन र ध्वनि प्रदूषण पनि बढ्छ। नेपालमा प्रतिबन्ध हुँदाहुँदै पनि यसको अवैध कारोबार र प्रयोग हुने गरेको समाचार आइरहन्छ। त्यसैले पटाकाको प्रश्नलाई केवल ‘कार्बन उत्सर्जन’ भनेर हेर्नु पनि अपूर्ण हुन्छ। यो जनस्वास्थ्यको प्रश्न हो। वायु प्रदूषणको प्रश्न हो। ध्वनि प्रदूषणको प्रश्न हो। दुर्घटनाको प्रश्न हो। समग्रमा पटाका नकिन्नु आफैंमा एउटा जलवायु तथा जनस्वास्थ्य नीति हो।

सबै दोष उपभोक्ताको मात्रै पनि होइन। यति भनिसकेपछि अर्को असहज सत्य स्वीकार गर्नुपर्छ। घरधुरीलाई मात्र जिम्मेवार बनाएर समस्या समाधान हुँदैन। यदि घरबाट छुट्याइएको जैविक र अजैविक फोहोर फेरि एउटै गाडीमा हालेर एउटै थुप्रोमा पुग्छ भने घरधुरीलाई ‘फोहोर छुट्याऊ’ भन्नुको अर्थ के रहन्छ? यदि कम्पोस्ट गर्ने बजार छैन भने घरले बनाएको मल कहाँ जाने? यदि स्थानीय किसानलाई बजार, ऋण र पूर्वाधार छैन भने उपभोक्ताले मात्र स्थानीय उत्पादन रोजेर कति परिवर्तन ल्याउन सक्छ? त्यसैले नागरिकलाई ‘जिम्मेवार बन’ भन्नु मात्रै पर्याप्त छैन। समग्र अन्तर्निहित प्रणालीलाई पनि जिम्मेवार बनाइनुपर्छ।

नेपालको राष्ट्रियस्तरमा निर्धारित योगदान ३.० ले उत्सर्जन घटाउने लक्ष्यसँगै दिगो फोहोर व्यवस्थापनलाई पनि समेटेको छ। तर प्रतिबद्धताको ठूलो हिस्सा अन्तर्राष्ट्रिय वित्त, प्रविधि हस्तान्तरण र क्षमता विकासमा सशर्त छ। यसको अर्थ के हो? हामीले बाह्य सहयोग पर्खिनुपर्ने क्षेत्र छन्। तर केही कामका लागि हामीले कसैलाई पर्खनु पर्दैन। घरको जैविक फोहोर छुट्याउन, अनावश्यक प्लास्टिक अस्वीकार गर्न, स्थानीय उत्पादन रोज्न, प्रयोग गर्न मिल्ने सामग्री पुनःप्रयोग गर्न र पटाका नकिन्न। यिनै काम साना देखिन्छन्। तर लाखौँ घरले एउटै निर्णय दोहोर्‍याए भने ती व्यक्तिगत निर्णय रहँदैनन्। ती बजारका संकेत बन्छन्। यस वर्ष चाड मनाउँदा हामीले निम्नानुसारका सरल उपाय अपनाउन सक्छौँ।

  • अस्वीकार गरौँ : पटाका, एकपटक प्रयोग हुने प्लास्टिक र अनावश्यक सजावट अस्वीकार गरौँ।
  • घटाऔँ : पाहुनाको वास्तविक सङ्ख्या हेरेर खाना पकाऔँ अनि खानेकुरा खेर जाने प्रवृत्ति कम गरौँ। सजावट र उपभोगको प्रतिस्पर्धा घटाऔँ।
  • पुनःप्रयोग गरौँ : पुराना सजावट, कपडाका झोला, माटो र धातुका भाँडा फेरि प्रयोग गरौँ।
  • मर्मत गरौँ : बत्ती, विद्युतीय सजावट र घरका सामान बिग्रिएपछि तुरुन्तै फाल्ने होइन, सम्भव भएसम्म मर्मत गरौँ।
  • पुनःचक्रण गरौँ : कागज, धातु, सिसा र अन्य पुनःचक्रणयोग्य वस्तु छुट्याएर उचित संकलन प्रणालीमा पठाऔँ।
  • सडाएर माटोमा फर्काऔँ : फूल, पात र भान्साको जैविक फोहोर कम्पोस्टमा पठाऔँ।

यी ६ वटा शब्दलाई नेपाली चाडको उत्साहसँगै नयाँ परिपाटी बसाल्ने मन्त्र बनाउन सकिन्छ।

यस वर्ष एउटा नयाँ हिसाब गरौँ। हामी चाडको बजेट हिसाब गर्छौँ। कति कपडा? कति मासु? कति मिठाई? कति उपहार? अब अर्को हिसाब पनि सुरु गरौँ। कति फोहोर? कति पुनःप्रयोग? कति जैविक वस्तु माटोमा फर्कियो? कति सामान स्थानीय थियो? कति अनावश्यक वस्तु किनिएन? यही हाम्रो ‘उत्सवको कार्बन लेखा’ हो।

यसको अर्थ हरेक परिवारले वैज्ञानिक जीवनचक्र मूल्यांकन गर्नुपर्छ भन्ने होइन। उद्देश्य यति मात्र हो, हामीले पैसाको मूल्य देखेजस्तै स्रोतको मूल्य पनि देख्न थालौँ। किनकि सस्तो वस्तु सधैं सस्तो हुँदैन। कहिलेकाहीँ त्यसको मूल्य फोहोर उठाउने श्रमिकले तिर्छ। कहिलेकाहीँ नदीले। कहिलेकाहीँ किसानले। कहिलेकाहीँ हाम्रो फोक्सोले। र, अन्ततः जलवायु प्रणालीले।

चाडपर्वको मौसम नेपालको सबैभन्दा ठूलो सामाजिक प्रयोगशाला हुन सक्छ। किनकि चाडमा व्यक्तिगत व्यवहार एकैचोटि सामूहिक व्यवहार बन्छ। लाखौँ घरले एकै समयमा किनमेल गर्छन्। लाखौँ भान्सामा खाना पाक्छ। लाखौँ उपहार प्याक हुन्छन्। लाखौँ किलो फोहोर निस्कन्छ। त्यसैले चाड हाम्रो जोखिम पनि हो र अवसर पनि।

कल्पना गरौँ, यदि एउटा टोलले यस वर्ष सामूहिक रूपमा जैविक फोहोर छुट्यायो भने? यदि अर्को टोलले पटाकामुक्त तिहार मनायो भने? यदि स्थानीय फूल, स्थानीय किसान र स्थानीय हस्तकलालाई प्राथमिकता दिने बजार बन्यो भने? यदि प्रत्येक घरले भोजको बाँकी खाना फाल्नुको सट्टा सुरक्षित रूपमा पुनःप्रयोग वा कम्पोस्ट गर्ने व्यवस्था गर्‍यो भने? यी कुनै पनि कामले एकै वर्षमा नेपालको जलवायु समस्या समाधान गर्ने छैनन्। तर त्यसभन्दा महत्त्वपूर्ण कुरा, हामीले समाधानको संस्कृति अभ्यास गर्न थाल्नेछौँ। नीति पनि अन्ततः अभ्यासबाटै बलियो हुन्छ।

अब प्रश्न ‘चाड मनाउने कि नमनाउने?’ होइन। जलवायु बहसलाई चाडपर्वको विरोधजस्तो बनाउनु गलत हुनेछ। हामीलाई कम उत्सव होइन, कम अपव्ययी उत्सव चाहिएको हो। हामीलाई कम भेटघाट होइन, कम फोहोरसहितको भेटघाट चाहिएको हो। हामीलाई परम्परा त्याग्नु होइन, परम्पराभित्रको चक्रीय बुद्धिमत्ता पुनर्जीवित गर्नु हो। पुर्खाले माटो, पात, अन्न र स्थानीय स्रोतमा आधारित चाड मनाए। हामीसँग आज उनीहरूसँग नभएको ज्ञान, प्रविधि र विकल्प छन्। त्यसैले प्रश्न यो हो, हामी आधुनिक भएर पनि किन फाल्ने संस्कृतिमा फर्कियौँ?

यस वर्षको दसैं-तिहारपछि हाम्रो सफलता कति पैसा खर्च भयो भन्नेमा नापिनु हुँदैन। बरु यस्ता प्रश्न सोधौँ – भोजको बाँकी खाना कहाँ गयो, ल्यान्डफिल कि माटो? हाम्रो पैसा कहाँ गयो, स्थानीय किसानको हातमा कि अनावश्यक आयातमा? हाम्रो सजावट अर्को वर्ष फेरि प्रयोग हुन्छ कि अर्को बिहान फोहोर बन्छ? हाम्रो उत्सवले आकाश उज्यालो बनायो कि हावा कालो? र, सबैभन्दा ठूलो प्रश्न, हामीले यस वर्ष कति चक्र बन्द गर्‍यौँ?

सायद यही प्रश्नबाट नेपालको चाडपर्वले नयाँ अर्थ पाउन सक्छ। चाडपर्व संस्कृति जोगाउने अवसर मात्र होइन भविष्य जोगाउने अभ्यास पनि हुन सक्छ। र यदि चाडलाई नै चक्रीय अर्थतन्त्रको प्रयोगशाला बनाउन सक्यौँ भने, जलवायु कार्यका लागि हामीले सधैँ बाहिरबाट ठूलो समाधान आउन पर्खिरहनुपर्ने छैन। समाधानको पहिलो प्रयोगशाला त हाम्रो आफ्नै भान्सा, बजारको झोला र आँगनको कुनामा छ।

यस वर्षको चाडपर्वमा हामी सबैलाई दिगो भविष्यको जग बसाल्ने व्यवहार परिवर्तन गर्न सक्ने चेतना प्राप्त होस्। सबैलाई बडादसैं, तिहार, छठ लगायतका चाड तथा राष्ट्रिय उत्सवहरूको हार्दिक मंगलमय शुभकामना।

((उल्लेखित विचार लेखकका निजी भएकाले आबद्ध संस्थाको प्रतिनिधित्व गर्दैनन्‌)