काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले साढे ५ महिनापछि आइपीओ स्वीकृत गरेको छ। सेबोन सञ्चालक समितिले शुक्रबार हिमपर्वत हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको छ।
वैशाख २ गते सेबोनका तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले एभरेष्ट कलरलाई आइपीओ अनुमति दिएकामा त्यसपछि रोकिएको निष्कासन साढे ५ महिनापछि अगाडि बढाइएको भएको हो।
विवादास्पद व्यापारीसँगको आर्थिक कनेक्सनपछि सन्तोषनारायणले वैशाख पहिलो साता राजीनामा दिएका थिए।सन्तोषनारायणको ठाउँमा असार दोस्रो साता सेबोन अध्यक्ष बनेका डा. गोपाल भट्टले जिम्मेवारी सम्हालेको तीन महिनापछि आइपीओ स्वीकृत गरेका हुन्।
यसअघि सन्तोषनारायणको पालामा आइपीओ निष्कासनको अधिकार अध्यक्षलाई दिइएकामा अहिले सञ्चालक समितिबाटै स्वीकृति दिइएको सेबोनका कर्मचारीले जानकारी दिए।
हिमपर्वत हाइड्रोपावर कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको हो। कम्पनीले आइपीओ निष्कासनका लागि २०८१ मंसिर ५ गते सेबोनमा आवेदन दिएको थियो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल छ।











