कांग्रेसमा गगन विश्वप्रकाशको पद सुरक्षितः सिंगल प्यानलले पौडेल र घिमिरेको इच्छा धरापमा

नेत्र तामाङ
२०८३ असोज १९ गते २१:२५ | Oct 5, 2026
कांग्रेसमा गगन विश्वप्रकाशको पद सुरक्षितः सिंगल प्यानलले पौडेल र घिमिरेको इच्छा धरापमा


काठमाडौं। विशेष महाधिवेशन हुँदै १५औं महाधिवेशनबाट कांग्रेसले आगामी ५ वर्षको लागि नयाँ कार्यसमिति चयन गर्दैछ। खुल्ला मञ्चमा सोमबार सम्पन्न केन्द्रीय समितिको विशेष महाधिवेशनको अन्तिम केन्द्रीय समितिले २९७ सदस्यीय कार्यसमिति फाइनल गरेको छ।

Vigo
GBIME
Tata

यो कार्य समितिमा एक सभापति चुनिनेछ। सभापतिमा किशोरसिंह राठौर र श्यामकृष्ण खड्कीले उम्मेदवारी घोषणा गरे पनि जित गगन थापाको निश्चित हुने देखिन्छ। किनभने अहिलेको सभापतिको निर्विकल्प उम्मेदवार गगन नै भएको धेरै नेताको मत छ। अबको सभापति गगन थापा नै हो र अबको प्रधानमन्त्रीको उम्मेदवार पनि गगन थापा नै हो – कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा भन्छन्।

शर्माझैं कांग्रेस महामन्त्री प्रदीप पौडेल पनि सभापति गगन नै हुने बताउँछन्। ‘गगन थापाले कांग्रेसको नेतृत्व सम्हाल्ने हो। उहाँ नै सभापतिमा आउनुहुन्छ – महामन्त्री पौडेलले भने।

कांग्रेसमा मंगलबार बिहान १० बजेबाट उम्मेदवार मनोनयन हुँदैछ। उम्मेदवारी मनोनयन गर्ने अधिकांशले उम्मेदवारी घोषणा गरिसकेका छन्। जसमा उपसभापति शर्मा र महामन्त्री पौडेलझैं एकमत छ।

पदाधिकारीदेखि केन्द्रीय सदस्यका उम्मेदवार गगनको लिस्टमा पर्न चाहेको देखिएको छ। जस कारण गगन निकटले नै आफ्नो उम्मेदवारी कतै धरापमा पर्ने हो कि भन्नेमा सशंकित देखिन्छन्।

कांग्रेसमा यस पटक थपिएको पद हो वरिष्ठ उपसभापति। नेताहरूका अनुसार यो पद विश्वप्रकाशका लागि सिर्जना गरिएको हो। तर विश्वप्रकाश आफैं भने निर्वाचन नभई भन्न नसकिने बताउँछन्। ‘विधानमा यो पद पक्का भएको छ। तर मेरो लागि नै हो भनेर अहिले नै कसरी भन्ने?’ शर्मा भन्छन्।

यस पटक सभापति दुईबाट बढाएर चार बनाइएको छ। जसमा एक उपसभापति र एक समावेशी कोटा राखिएको छ।

महामन्त्री एक महिलासहित ३ जना, सहमहामन्त्री १५ जना, कोषाध्यक्ष एक र प्रवक्ता एकको व्यवस्था गरिएको छ।

कांग्रेसमा सबैभन्दा आकर्षित पद सभापतिपछि महामन्त्री हो। विशेष महाधिवेशनबाट गगनको साथ आएका महामन्त्री प्रदीप र गुरुराज घिमिरे सोही पदमा दोहोरिन चाहेका छन्। तर गुट एउटै मात्र भएकोले दुवै जना असुरक्षित रहेको नेताहरू बताउँछन्। ‘सबै गगन गुटकै भएकोले महामन्त्रीमा प्रदीप दाइ र गुरुराज सुरक्षित देखिन्न,’ एक महाधिवेशन प्रतिनिधिले बताए।

कोशीका डा सुनिल शर्मा, बागमतीका उदयशम्शेर राणा र डडेलधुराका नैनसिंह महर महामन्त्रीका बलिया प्रतिस्पर्धी हुन्। जसले गर्दा दुई महामन्त्रीको पद असुरक्षित देखिएको हो। ‘सुनिल शर्माको उम्मेदवारीले गुरु घिमिरेको पद असुरक्षित देखिएको छ। उदयको उम्मेदवारीले प्रदीपको,’ ती महाधिवेशन प्रतिनिधिले भने। महामन्त्रीमा शंकर तिवारीदेखि रञ्जित कर्णसम्मले उम्मेदवारी दिएका छन्।

महिला कोटाको महामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना र डिला संग्रौलाले उम्मेदवारी घोषणा गरेका छन्। यो पद डिनाका लागि सुरक्षित गरिएको कांग्रेस नेताहरू बताउँछन्।

सहमहामन्त्रीमा भने ११ जना निर्वाचित हुने गरी विधान संशोधन गरिएको छ। सहमहामन्त्री ४ जना सभापतिले मनोनीत गर्न पाउनेछन्। यसअघि ८ सहमहामन्त्री रहेकोमा यस पटक सहमहामन्त्री झन्डै दोब्बर बनाइएको हो। सहमहामन्त्री पदमा भने धेरैको आकर्षण देखिँदैन।

१४औं महाधिवेशनमा १६७ जनाको केन्द्रीय समिति रहेको कांग्रेसले यस पटक २९७ जनाको कार्यसमिति बनाएको छ। केन्द्रीय सदस्यका उम्मेदवार पनि सबैजसो गगनकै गुटबाट उम्मेदवार हुन चाहेको देखिन्छन्। ‘मैले गगन दाइको टिमबाट चुनाव लड्ने कोसिस गरिरहेको छु। मेरो नाम सचिवालयमा पुगेको छ,’ केन्द्रीय सदस्यका एक उम्मेदवारले भने।

यसअघिका महाधिवेशनमा प्यानल बन्दा कुन पदमा कसको सम्भावना बलियो भनी अनुमान गर्न सकिने भए पनि यस पटक प्यानल नबन्दा कुन पदमा कसको जित होला आकलन गर्नै मुस्किल हुने महाधिवेशन प्रतिनिधि बताउँछन्।