काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँचवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम शुक्रबारको निर्णयानुसार १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको जारी सूचनामा छ।
कालोसूचीमा पर्नेमा कालीकोटको वटाला निर्माण सेवा, गोरखाको बुढीगण्डकी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि र सुर्खेतको विनम्र निर्माण सेवा छन्। यी तीनै कम्पनीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ।
यस्तै सुर्खेतको ध्रुव निर्माण सेवालाई २ वर्ष र मुगुको अविनास निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। कार्बाहीमा परेका कम्पनीमध्ये तीनवटाले सडक डिभिजनको ठेक्कामा सम्जऔताका सर्तअनुसार काम गरेका थिएनन्। विनम्र, ध्रुव र अविनास निर्माण सेवालाई कार्बाहीका लागि सडक डिभिजन जुम्लाले सिफारिस गरेको हो।
यस्तै वटालालाई तिलागुफा नगरपालिकाको कार्यालय र बुढीगण्डकीलाई पूर्वाधार विकास कार्यालय लमजुङले कार्बाही सिफारिस गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा जारी सूचनामा छ।











