काठमाडौं। नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की)को आगामी नेतृत्वका लागि कुणाल केयाल र करण चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ।
संघको ३२औँ साधारणसभा यही असोज २९ गते हुँदैछ। साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्नेछ। अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष कुणाल केयाल र कार्यसमिति सदस्य करण चौधरीले दाबी प्रस्तुत गरेपछि नेतृत्वका लागि उनीहरूबीच प्रतिस्पर्धा हुने देखिएको हो।
संघको निर्वाचन तालिकाअनुसार असोज २१ गते अध्यक्ष एक र सदस्य नौ गरी १० पदका लागि उम्मेदवारी दर्ता हुनेछ। अध्यक्ष पदमा केयाल र चौधरीको उम्मेदवारी परेमा निर्वाचनबाट नेतृत्व चयन हुनेछ।
नेपाल-भारत उद्योग वाणिज्य संघले नेपाल र भारतबीच औद्योगिक, व्यापारिक तथा लगानी प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ। संघको स्थापना २०४९ सालमा तदर्थ समितिबाट सुरु भएको थियो। त्यसपछि २०५१ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघका रूपमा विधिवत् दर्ता भई संस्थागत रूपमा अघि बढेको हो।
संघको ३३ वर्षे इतिहासमा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको यो दोस्रो पटक हुनेछ। यसअघि संघको २२औँ साधारणसभाका क्रममा निर्वाचनबाट सौर्य शमशेर जबरा राणा अध्यक्षमा निर्वाचित भएका थिए।
यसपटक अध्यक्ष पदका दुवै दाबेदार नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रका स्थापित समूहसँग आबद्ध छन्। कुणाल केयाल वीरगन्जस्थित केयाल ग्रुपका निर्देशक हुन् भने करण चौधरी सीजी होल्डिङ्स (चौधरी ग्रुप)का प्रबन्ध निर्देशक हुन्।











