राइड सेयरिङ कम्पनीको मासिक कारोबार करिब २ अर्ब, सरकारलाई सवा ९ करोड राजस्व

बिजमाण्डू
२०८३ असोज १४ गते १४:४२ | Sep 30, 2026
राइड सेयरिङ कम्पनीको मासिक कारोबार करिब २ अर्ब, सरकारलाई सवा ९ करोड राजस्व


काठमाडौं। देशमा संचालनमा रहेका ८ वटा राइड सेयरिङ कम्पनीको मासिक कारोबार करिब २ अर्ब रुपैयाँ पुगेको छ।

Vigo
GBIME
Tata

चालु आर्थिक वर्ष साउनमा मात्रै ८ वटा राइड सेयरिङ कम्पनीले १ अर्ब ८५ करोड ४० लाख रुपैयाँको कारोबार गरेका छन्। ती कम्पनीले सरकारलाई ९ करोड २७ लाख रुपैयाँ राजस्व बुझाएका छन्। कारोबार नघटेको अवस्थामा राइड सेयरिङबाट एक वर्षमा १ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन हुनेछ।

चालु आवको बजेट ल्याइनुअघि सरकारले गरेको अध्ययनले राइड सेयरिङ‌मा वार्षिक २१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको देखाएको थियो। त्यही अध्ययनका आधारमा चालु आवदेखि राइड सेयरिङलाई राजस्वको दायरामा ल्याइएको हो। राइड सेयरिङमा ५ प्रतिशत भ्याट लगाइएको छ।

राइड सेयरिङ सेवा विस्तार हुँदै गएसँगै यस क्षेत्रमा हुने कारोबार बढ्दै गएको हो। बजारमा हाल पठाओ, इनड्राइभ, यांगो, ट्याक्सीमाण्डू, सजिलो, जुमजुम, उबर, लगायत राइड सेयरिङ कम्पनीले सेवा दिँदै आएका छन्।

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा मोटरसाइकल तथा चारपांग्रे सवारीसाधनमार्फत राइड सेयरिङ सेवा संचालन हुँदै आएको छ। यात्रुले मोबाइल एपमार्फत सवारी बुक गर्ने र सेवा लिएबापत डिजिटल माध्यमबाट भुक्तानी गर्ने भएकाले यस क्षेत्रको कारोबार औपचारिक प्रणालीमा जोडिएको छ।

राइड सेयरिङ सेवाले शहरी यातायातमा वैकल्पिक सुविधा उपलब्ध गराउनुका साथै रोजगारी सिर्जना र डिजिटल भुक्तानी विस्तारमा समेत योगदान पुर्‍याउँदै आएको छ। विशेषगरी मोटरसाइकल तथा निजी सवारीसाधन भएका व्यक्तिले आफ्नो समयअनुसार सेवा दिएर आम्दानी गर्दै आउका छन्।

एपमा आधारित सेवा भएकाले यात्रु, चालक र कम्पनीबीचको कारोबारलाई डिजिटल माध्यमबाट ट्र्याक गर्न सकिने संरचना बनाइको छ।