काठमाडौं। एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आग्रह गरेको छ।
नाइमा प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहसँग भेट गरी एजेन्सी दर्तासम्बन्धी नियमले अटोमोबाइल व्यवसायमा पारेको प्रभावबारे छलफल गरेको हो।
नाइमाले एजेन्सी दर्ता गर्दा वा नयाँ वस्तु थप्दा कम्पनीको पुँजीको ०.५ प्रतिशत धरौटी बुझाउनुपर्ने व्यवस्था र नियममा वस्तुको परिभाषा स्पष्ट नभएको विषयमा मन्त्रीको ध्यानाकर्षण गराएको छ।
एउटै ब्रान्डका विभिन्न मोडेललाई अलग-अलग वस्तुमा प्रत्येक मोडेलका लागि छुट्टाछुट्टै धरौटी मागिँदा व्यवसायीमा आर्थिक भार थपिने नाइमाले जनाएको छ।
नाइमाले वस्तुको परिभाषा स्पष्ट गर्न र एउटै ब्रान्डका विभिन्न मोडेलका लागि छुट्टाछुट्टै धरौटी लिनुपर्ने व्यवस्था हटाउन आग्रह गरेको छ।
छलफलका क्रममा मन्त्री साहले नाइमाले उठाएका विषयलाई सकारात्मक रूपमा लिँदै यसअघि भएका निर्णयहरूको पुनरावलोकन गर्न र एजेन्सी दर्ता सम्बन्धी नियमलाई व्यवसायी तथा उद्यमीमैत्री बनाउने गरी आवश्यक प्रक्रिया अघि बढाइने बताए।
भेटमा नाइमाका बोर्ड सदस्यहरू निराकार श्रेष्ठ र रणनीति तथा सदस्यता मामिला समितिका संयोजक आकाश गोल्छा लगायतका सदस्य कम्पनीहरूका प्रतिनिधि सहभागी थिए।











