विराटनगर। एकीकृत भन्सार जाँच चौकी (आइसीपी) छेउको रेल्वे स्टेसन (एनसीवाई)मा ४ वटा कार्गो रेल आउँदा विराटनगरमा रेल्वे यार्ड लगायत संरचना भत्किएको छ। पुरेको माटो रोलर नलगाई कालोपत्रे गरेकाले संरचना भत्किएर काम नलाग्ने भएको हो।
कालोपत्रेको यार्ड भत्किएर दुई फिटसम्मका खाल्टाखुल्टी परेको छ। एनसीवाईमा कन्टेनर राख्ने यार्ड, ब्यागेज कार्गो (बोरामा आएका सामग्री) राख्ने प्लेटफर्म र एनसीवाईदेखि भन्सार कार्यालयस्थित आइसीपीसम्म पुग्ने बाटो तीन वटै संरचना भत्किसकेका छन्।
कार्गो रेलमा आएका भरी कन्टेनरलाई ७० टन क्षमताको रिच स्टेकर (भारी क्षमताको क्रेन)ले उतारेर यार्डमा राख्छ। कन्टेनर यार्डमा खप्टाएर राख्दा एकै ठाउँमा १०० टनसम्मको लोड पर्छ। यही लोडका कारण खाल्टाखुल्टी परेको हो।
विराटनगरको आइसीपी र एनसीवाईमा कार्गो ह्यान्डलिङको ठेक्का लिएको ट्रान्स नेपाल टीआरएस लोजिपार्कका प्रबन्धक मोहम्मद आलमले अत्यन्त जोखिममा काम भइरहेको बताए।
‘भत्किएर क्षतविक्षत भएको यार्डमा रिच स्टेकर नलैजाऊँ, कन्टेनरको अनलोड र ह्यान्डलिङ हुन सक्दैन। रिच स्टेकर यार्डमा राख्दा कहाँनेर भास्सिने हो वा कुन खाल्टामा परेर पल्टिने हो भन्ने डर छ। रिच स्टेकर भास्सियो वा पल्टियो भने ठूलो क्षति ब्यहोर्नुपर्छ,’ प्रबन्धक आलमले भने।
ट्रान्स नेपालका मुख्य व्यवस्थापक लक्ष्मी सुब्बाले भारतीय पक्षले भर्खर पुरेको माटोलाई रोलर नलगाई त्यसैमाथि अलकत्रा हालेर कालोपत्रेको यार्ड बनाएकोले भत्किएको बताए।
‘कालोपत्रेका लागि प्रयोग गरिएको बिटुमिनको गुणस्तर पनि खराब देखिएको छ। जबकि कार्गोका लागि यार्ड बनाउँदा तीन फिट तलबाट आरसीसी गरेर माथि सिमेन्टेड वा कालोपत्रे जे गरे पनि हुन्छ। यही कमजोर सामग्री र निर्माणका कारण एनसीवाईको १ किलोमिटरको यार्ड काम नलाग्ने गरी भत्किएको हो,’ मुख्य व्यवस्थापक सुब्बाले भने।

रेल कार्गोबाट बोरामा लोड भएर आएको कार्गो हावापानीबाट खराब हुने प्रकारको हुन्छ। यसलाई ब्यागेज कार्गो भनिन्छ। तर, ब्यागेज कार्गोलाई उतारेर सुरक्षित राख्न प्लेटफर्ममा छानो बनाइएको छैन। त्यसैले यस्तो कार्गो आउन सकिरहेको छैन।
एनसीवाईमा नुन, मल, चिनी, खाद्यान्न, स्पन्ज आइरन, इन्डस्ट्रियल केमिकल, चुना लगायत वस्तु ब्यागेज कार्गोअन्तर्गत आउन सक्छन्। आलमका अनुसार यस्तो कार्गो राख्न प्लेटफर्ममा छानोसहितको सेड बनाउनु पर्छ। अन्यथा पानीले खराब हुन्छ। सेड नबनाई एनसीवाईमा ब्यागेज कार्गो ल्याउन सकिँदैन।
एनसीवाईबाट आइसीपीसम्म पुग्ने ३० मिटरका २ वटा सडक छन्। दुबै सडक २ फिटसम्म भास्सिइसकेका छन्। सडक किनारमा सडकलाई टेवा दिन पुरिएको माटो खसेर बग्न थालेको छ।
चार पटक रेल आउँदै दुबै सडक र सडक किनार जीर्ण भएका छन्। एनसीवाईमा बनाइएको ब्रिज (पुल)ले पनि कार्गो अनलोड र ह्यान्डलिङमा वाधा पुर्याएको ट्रान्स नेपालको भनाइ छ।
‘ब्रिजको ठिक तलतिर कार्गो रेल हुन्छ। यस ठाउँमा रिच स्टेकर चलाएर रेलबाट कन्टेनर उतार्न र ब्रिजको तलबाट रिच स्टेकर हिँडाउन गाह्रो भएको छ। त्यसैले कार्गो रेल संचालन गर्ने हो भने यस ब्रिजको काम छैन। यसलाई भत्काइदिए सबैभन्दा राम्रो हुन्छ। यस ब्रिजको केही उपयोगिता छैन,’ आलमले भने।

भारतको सीमावर्ती बथनाहादेखि मोरङको कटहरीसम्मको रेलमार्ग भारत सरकारको ठेक्कामा भारतीय निर्माण कम्पनी इन्डियन रेल्वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (इरकोन)ले गरेको हो। यही रेलमार्ग अन्तर्गत एनसीवाई पर्छ।
इरकोन भारतीय रेल्वे अन्तर्गतकै निर्माण कम्पनी हो। सामान्यतया इरकोनले गरेको काम गुणस्तरीय हुने विश्वास गरिन्छ। तर, इरकोनले निर्माण गरेका एनसीवाईका संरचना पूर्ण प्रयोगमा नआउँदै भत्किइसकेका छन्।
यस्तो छ सरकारी भनाइ
ट्रान्स नेपाल टीआरएस लोजिपार्कले आइसीसपी र एनसीवाई गरी दुबै ठाउँको ठेक्का नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग मासिक १ करोड ४० लाख रुपैयाँ तिर्ने गरी ५ वर्षका लागि लिएको हो।
तर, एनसीवाईको स्वामित्व भने पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको रेल्वे बोर्डसँग छ। नेपाल पारवहनका प्रबन्धक युवक डंगोलले नेपाल कस्टम यार्ड रेल वे बोर्डको सम्पत्ति भएकाले आफ्नो निकायले केही गर्न नसक्ने बताए।
‘त्यो भारतीय ग्रान्टमा बनेको संरचना रहेछ। हाम्रो स्वामित्वमा पर्दैन। हामीले संचालन मात्र गरेको हो। हाम्रो प्रोपर्टी नभएपछि हामीले मर्मत, सम्भार वा निर्माण केही गर्ने कुरा भएन,’ प्रबन्धक डंगोलले भने।

डंगोलले सानो खर्चमा मर्मत हुने भए विचार गर्न सकिने भन्दै धेरै पैसा लाग्ने भएकाले केही गर्न नसकिने जवाफ दिए। उता रेल्वे बोर्डका विराटनगर हेर्ने इन्जिनियर बोधप्रसाद भण्डारीले बोर्डले एनसीवाईको जिम्मा पारवहन तथा गोदाम व्यवस्था कम्पनीलाई दिइसकेको हुँदा त्यसको मर्मत सम्भार त्यही निकायले गर्नुपर्ने बताए।
‘हामीले त ह्यान्डओभर गरेर पारवहनलाई जिम्मा लगाइसकेका छौं। अब त्यसको संचालन, मर्मत संभार निर्माण पारवहनले नै गर्ने हो। हामीले गर्ने होइन,’ इन्जिनियर भण्डारीले भने।
ट्रान्स नेपालका मुख्य व्यवस्थापक सुब्बाले महिनामा १२ वटा कार्गो रेल नआई ट्रान्स नेपाल ब्रेक इभनमा चल्न नसक्ने बताए। ‘महिनामा १२ वटा कार्गो रेल आएनन् भने हामी ब्रेक इभनमा पुग्दैनौं। किनकि महँगो मूल्यमा यहाँको ठेक्का लिइएको छ। तर, २ महिनामा ४ वटा मात्र आएका छन्। त्यसमा पनि यहाँको यार्ड, सडक, प्लेटफर्म लगायतका सबै भौतिक पूर्वाधार भत्किएर काम नलाग्ने भइसकेका छन्,’ सुब्बाले भने।











