काठमाडौं। पृथ्वी राजमार्ग बन्द भएपनि नेपाल ग्यासले चितवनको बोटलिङ प्लान्टमा ग्यास भरेर काठमाडौं ल्याउने भएको छ। उद्योगका कार्यकारी निर्देशक गोकुल भण्डारीले शुक्रबार नै चितवनबाट ५०० सिलिण्डर त्रिभुवन राजपथ हुँदै काठमाडौं ल्याउन लागिएको जानकारी दिए।
‘पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौंमा बुलेट ल्याउने अवस्था रहेन। काठमाडौंमा बिस्तारै अभाव कम भइरहेका बेला आपूर्ति रोक्न हुन्न भनेर चितवनमा भरेर ल्याउन लागेका हौं,’ उनले बिजमाण्डूसँग भने, ‘काठमाडौंका लागि ल्याउन लागिएको १० बुलेट ग्यास चितवनमै भरेर ल्याउने तयारीमा हामी छौं।’
नेपाल ग्यासले कृष्णभीर खुलेपनि चितवनबाट समेत ग्यास ल्याएर काठमाडौंको अभाव हटाउन खोजिरहेको थियो। चितवनबाट अर्को गाडीमा ग्यास ल्याउँदा अतिरिक्त २०० रुपैयाँ भाडा पर्छ।
भण्डारीले विपतका बेलामा निजी क्षेत्रले नाफाघाटा हेर्न नहुने बताउँदै अहिले उपभोक्ताले सहज रुपमा ग्यास पाउने प्रत्याभूतिमा लागेको बताए।
‘यो बेलामा नाफाघाटा हेर्ने होइन। राम्रो भएका बेलामा कमाइएला,’ भण्डारीले भने, ‘यो संकटका बेलामा आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले पनि चितवनबाट ल्याएर भएपनि आपूर्ति श्रृंखला नरोक्नुस् भन्नुभयो। हामीले अहिले पनि त्यही गरिरहेका थियौं।’











