टोखाका ५५ घर सोल्डआउट, बानेश्वरको ५३ अपार्टमेन्ट, घरजग्गा मेलामा १० अर्ब बढीको कारोबार

नेत्र तामाङ
२०८३ असोज ४ गते २१:२६ | Sep 20, 2026
टोखाका ५५ घर सोल्डआउट, बानेश्वरको ५३ अपार्टमेन्ट,  घरजग्गा मेलामा १० अर्ब बढीको कारोबार


काठमाडौं। शनिबार घरजग्गा मेलामा ग्रान्डी कोलोनीको स्टलमा घर किन्नेहरूको डिल हुँदै थियो। टोखामा १ करोड ४० लाखमै घर पाइने भएपछि ग्राहकको घुइँचो लागेको थियो।

Vigo
GBIME
Tata

एक ग्राहकले बुक गरेको घर अर्कोको नाममा पनि बुक भइसकेको रहेछ। एक छिन दुवै ग्राहक अलमल परे। ‘दक्षिण पूर्व फर्केको घर धेरैले मन पराउनुभयो। फरक फरक टेबलमा डिल हुँदै एकै घर एकै छिनको फरकमा दुई जनाले बुक गर्नुभएको थाहा भयो,’ ग्रान्डी कोलोनीका एक कर्मचारीले भने।

त्यसपछि ग्रान्डी कोलोनीका कर्मचारी र सञ्चालक अकमकिए। एकै घरमा दुई जनाको दाबी परेपछि सञ्चालकहरूले ग्राहकबिच नै आपसी सम्झौता गर्न लगाए। एकै घरमा दाबी परेको ग्राहक आफैं मिले। र फरक-फरक घर रोजे।

ग्रान्डीले मेलामा ५० वटा घर प्रतिघर १० लाख छुट दिएर राखेको थियो। आइतबार दिउँसै ती घर सोल्डआउट भएर थप ५ वटा घर थप्नुपर्‍यो। चक्रपथबाट ७ किलोमिटर पर्ने साढे दुई आनामा बन्ने दुई तल्ले घर धेरैले मन पराए।

यता बानेश्वरको सिभिल अस्पताल पछाडि अपि इन्फ्राले ल्याएको ५३ मध्ये ५१ अपार्टमेन्ट बुक भएको छ। अपिले फेज-२ अन्तर्गत ल्याएको यहाँको अपार्टमेन्ट साढे दुई करोडदेखि ४ करोडसम्मका छन्।

झम्सिखेल र बानेश्वरमध्ये धेरैले बानेश्वरको अपार्टमेन्ट रुचाएको कम्पनीका सञ्चालक सञ्जीव न्यौपानेले बताए। ‘हामीले झम्सिखेल र बानेश्वरमा अपार्टमेन्ट ल्याएका थियौं। सबैभन्दा धेरै लोकेसनको हिसाबले पनि बानेश्वरको मन पराए,’ न्यौपानेले भने।

भृकुटीमण्डपमा भएको मेलामा ग्रान्डी र अपि इन्फ्राजस्ता १८ वटा हाउजिङ र डेभलपर सहभागी थिए। सोल्टी सिटी, गृहकुन्ज, कर्मा अपार्टमेन्ट, सिजी प्रोपर्टीका घर अपार्टमेन्ट पनि प्रदर्शनीमा सहभागी रहेका थिए। यी कम्पनीका घर तथा अपार्टमेन्ट साइट भिजिट गरेर मात्र लिने गरी ग्राहकले नाम दर्ता गराएका छन्।

ललितपुरको धापाखेल क्षेत्रमा रहेको डाउनटाउन हाउजिङका २५ घर र अपार्टमेन्ट बुक भएको सञ्चालक मीनमान श्रेष्ठले बताए। ‘यस पटकको मेलामा २५ घर र अपार्टमेन्ट गयो। निकै राम्रो भिजिटर आइपुगे। धेरै राम्रो भयो,’ सञ्चालक श्रेष्ठले भने।

मेलामा धेरैजसोले घर र अपार्टमेन्ट मन पराएको र बुकिङ पनि गरेका छन्। असोज १ गतेबाट ४ गतेसम्म चलेको मेलामा १५० भन्दा बढी घर र अपार्टमेन्ट बुक भएको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताए। ‘मेलामा घरजग्गाप्रति ग्राहकहरूको आकर्षण उत्साहप्रद रह्यो। झन्डै १५० बढी घर तथा अपार्टमेन्ट बुक भएका छन्,’ अध्यक्ष घिमिरेले भने।

मेलामा ८० हजार बढी अवलोकनकर्ता आइपुगेको आयोजकले जनायो। घिमिरेका अनुसार मेलामा जग्गाको बुकिङ र साइट भिजिट पनि उल्लेख्य रहेको छ। ललितपुरको भैंसीपाटी, नगरकोट नजिकै रहेको कलामसी तथा राजधानीका विभिन्न क्षेत्रमा रहेको जग्गामा कम्पनीहरूले साइट भिजिटमा समेत ग्राहक लगेका थिए। ती क्षेत्रमा ग्राहकले बैनासमेत गरेको तर जग्गाको बारेमा यकिन तथ्याङ्क केही दिनमा आउने अध्यक्ष घिमिरेले बताए। ‘एक्स्पोमा १८ कम्पनी थियौं। कुनको कति जग्गा गयो भन्नेबारे हामी डिटेलिङ लिँदैछौं,’ अध्यक्ष घिमिरेले भने।

यो मेलामा १० अर्ब बढीको घरजग्गा कारोबार भएको प्रारम्भिक तथ्यले देखाएको उनले भने।

निजी क्षेत्रलाई साथ दिने गजुरेलको प्रतिबद्धता

समापनमा प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ८० हजारभन्दा बढी नागरिकको सहभागिताले घरजग्गा तथा आवास क्षेत्रप्रति जनताको आकर्षण कायम रहेको देखाएको बताए। भदौ १० गते रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीले जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता थप स्पष्ट पारेको उनले बताए।

गजुरेलले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सरकार र निजी क्षेत्रबिच लाभ तथा जोखिम बाँडफाँट गरेर अघि बढ्न सकिने उल्लेख गर्दै हदबन्दीको विषयमा कानुनी तथा नीतिगत समस्या पूर्वाधार विकास समितिमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘सार्वजनिक निजी अवधारणामा हामी जानुपर्छ। जोखिम पनि बाँड्ने, नाफा पनि बाँड्ने गर्नुपर्छ,’ सभापति गजुरेलले भने, ‘कानुनअनुसार हामी अघि बढ्छौं। ढुक्क हुनुस्। निजी क्षेत्रलाई हामी साथ दिन्छौं।‘

समापनमा विशेष अतिथि प्रतिनिधि सभाको अर्थ समिति सदस्य रुकेश रञ्जितले प्रदर्शनीमा अपेक्षाभन्दा बढी दर्शक सहभागी हुनुले अर्थतन्त्र सुधारोन्मुख रहेको संकेत गरेको बताए। रञ्जितले घरजग्गा व्यवसायलाई केवल जग्गा किनबेचको गतिविधिका रूपमा नभई उद्योगका रूपमा विकास गर्नुपर्ने बताए। रसुवाको बाढीपछिको पुनर्निर्माणमा नयाँ इन्जिनियरिङ अवधारणाअनुसार वातावरणीय सन्तुलनसहित सुरक्षित बस्ती विकास गर्नुपर्ने र सहरी पूर्वाधारमा युटिलिटी करिडोरको अवधारणा अघि बढाउनुपर्ने उनको भनाइ थियो।

चार दिनसम्म चलेको प्रदर्शनीमा सात लाख रुपैयाँदेखि करोडौं रुपैयाँसम्मका किफायती घर, अपार्टमेन्ट तथा विभिन्न स्थानका घडेरी बिक्री तथा प्रदर्शनका लागि राखिएका थिए। बैंक तथा वित्तीय संस्थाले ५ दशमलव ४९ प्रतिशतदेखि ६ प्रतिशतसम्मको ब्याजदरमा कर्जा अफर गरेका कारण उपभोक्ताका लागि घरजग्गा खरिदको विकल्पबारे जानकारी लिन सहज भएको आयोजकले जनाएको  छ।

प्रदर्शनी अवधिभर वास्तुशास्त्र, सार्वजनिक–निजी साझेदारी, नीतिगत सुधार, भूकम्पीय सुरक्षा तथा सुरक्षित आवासलगायत विषयमा सेमिनार तथा अन्तरक्रिया आयोजना गरिएको थियो। यसले घर निर्माण तथा जग्गा खरिदमा रुचि राख्ने उपभोक्तालाई व्यवसायी तथा प्राविधिकसँग प्रत्यक्ष जानकारी लिन अवसर दिएको आयोजकको भनाइ छ ।

समापन समारोहका सभापति तथा नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवरले ८० हजारभन्दा बढीको सहभागिताले व्यवसायीमा नयाँ ऊर्जा थपिएको बताए। कुँवरले ठूला आवासीय तथा सहरी विकास परियोजना अघि बढाउन जग्गा हदबन्दी सम्बन्धी अवरोध हटाउनुपर्ने बताए।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा महासंघका सल्लाहकार दीपक मलहोत्राले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन राष्ट्र बैंकको कर्जा नीतिमा पुनरावलोकन आवश्यक रहेको  बताए। उनले लोन टु भ्यालु (एलटीभी) अनुपात बढाउन तथा लामो समयदेखि समस्यामा रहेका व्यवसायीलाई कर्जा पुनर्संरचना र पुनर्कर्जाको सुविधा दिनुपर्ने माग गरे।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले समापन समारोहमा चार प्रमुख नीतिगत माग अघि सारे। उनले घरजग्गा व्यवसायमा रहेको हदबन्दी हटाउनुपर्ने, हालको ५० प्रतिशत लोन टु भ्यालु अनुपातलाई कम्तीमा ८० प्रतिशत पुर्‍याउनुपर्ने, घरजग्गा क्षेत्रलाई उद्योगसरह मान्यता दिनुपर्ने तथा अपार्टमेन्ट र आवास क्षेत्रमा रहेको कमन स्पेसको स्वामित्व विना राजस्व व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुपर्ने माग गरे।