रसुवा नाका पुन: सञ्चालन गर्न सरकारले खोज्यो चीनको साथ, मन्त्रीले राजदूतलाई भने- सहयोग चाहियो

बिजमाण्डू
२०८३ असोज ९ गते १५:३५ | Sep 25, 2026
रसुवा नाका पुन: सञ्चालन गर्न सरकारले खोज्यो चीनको साथ, मन्त्रीले राजदूतलाई भने- सहयोग चाहियो


काठमाडौं। सरकारले भदौ १० गतेको बाढीले क्षतविक्षत भएको रसुवागढी नाका पुन: सञ्चालनमा ल्याउनका लागि उत्तरी छिमेकी चीनको सहयोग मागेको छ।

Vigo
GBIME
Tata

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले शुक्रबार नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङलाई सिंहदरबार बोलाएर छलफल गरी बाढीका कारण क्षतिग्रस्त नाका पुन: सञ्चालनमा ल्याउनका लागि सहयोगको आग्रह गरेका छन्।

उनले बाढीका कारण क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि सहयोगको आग्रह गर्ने क्रममा नाका पुन: सञ्चालनमा ल्याउन पनि साथ मागेका हुन्।

भोटेकोशी नदीमा भदौ १० मा आएको बाढीका कारण रसुवागढीमा सडक लगायत पूर्वाधार सबै कोल्याप्स भएको छ। अहिले स्याफ्रुबेसीबाट रसुवागढीतर्फ जान सक्ने अवस्था छैन।

मन्त्री लम्सालले राजदूतसामु स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको सडक खण्ड तत्काल सञ्चालनमा ल्याउन चीन सरकारको सहयोग आवश्यक रहेको बताए।

उनले रसुवागढी नाकासम्म दीर्घकालीन सडक पूर्वाधार विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी आवश्यक स्थानमा ट्र्याक खोल्ने कार्यमा समेत सरकार अघि बढेको जानकारी दिंदै चीन सरकारको सहयोग र समन्वयका लागि आग्रह गरेका हुन्।

उनले तत्कालका लागि पुरानै स्थानबाट अस्थायी सडक तथा यातायातको व्यवस्था मिलाएर स्थानीय नागरिकलाई राहत दिने गरी सरकारले दिनरात काम गरिरहेको बताए।

बाढीले बगाएका कारण एक महिनादेखि रसुवासँग सडक सम्पर्क टुटेकामा बेत्रावतीमा बेलीब्रिज हाल्ने तयारी गरिएको छ। सडक विभागका अधिकारीहरुका अनुसार त्रिशूलीबाट बेत्रावतीसम्मको सडक अस्थायी रुपमा खोल्नका लागि काम अन्तिम अवस्थामा पुगेको छ।

बेत्रावतीमा बेलीब्रिज हालेपछि धुन्चे हुँदै स्याफ्रुबेसीसम्म पुग्न सकिन्छ। तर, त्यहाँबाट अगाडि बढ्न सक्ने अवस्था छैन।

मन्त्री लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउनका लागि पनि राजदूत माओमिङसँग आग्रह गरेका छन्। ‘मन्त्रीज्यूले बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास, रसुवागढी केरुङ नाका पुनः सञ्चालन, करिब ६ लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावत र कोरला तथा तातोपानी नाकाको प्रभावकारी सञ्चालनलगायत विषयमा चीन सरकारबाट आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको छ,’ लम्सालको सचिवालयले भनेको छ।

चीनले तातोपानी नाका भदौ १४ देखि बन्द गरेकामा खोल्ने मितिबारे अहिलेसम्म जानकारी गराएको छैन। एउटा नाका बाढीले ध्वस्त र अर्को नाका चीनले बन्द गरेका कारण नेपाली व्यवसायीहरुले आयात निर्यातका लागि अहिले धेरै लामो पर्ने कोरला नाका प्रयोग गर्नुपरेको छ।

मन्त्री लम्सालको सचिवालयका अनुसार राजदूतले सहयोगको आश्वासन दिएका छन्। राजदूत माओमिङले नेपालको असल मित्रका नाताले हरसम्भव सहयोगका लागि चीन तयार रहेको जवाफ दिएका छन्।

उनले नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका लागि विशेष अध्ययन गरी दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माण गर्नुपर्ने बताए।

‘राजदूतले रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका सम्बन्धमा नेपाल सरकारले विशेष प्रस्ताव पठाएमा आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ लम्सालको सचिवालयले भनेको छ। राजदूतले तातोपानी नाका सञ्चालनका लागि पनि चीन सकारात्मक रहेको जवाफ दिएका छन्।