काठमाडौं। जेनजी आन्दोलनका बेला गत वर्ष भदौ २४ गते कारागारबाट भागेका एक जनाले ठगी गरेको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले टोखा नगरपालिका-९ मिलन टोलस्थित एक गेष्ट हाउसबाट ओखलढुंगा सिद्बिचरण नगरपालिका-१ घर भएका २८ वर्षीय अनिष थापा मगरलाई पक्राउ गरेको हो। उनको साथबाट सुन जस्तो देखिने ८५६ ग्राम धातु समेत बरामद गरेको छ।
त्यही नक्कली सुन देखाएर उनले पटक-पटक गरेर १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको उजुरीपछि प्रहरीले अनुसन्धान थालेको छ।
थापा मगर जबर्जस्ती करणी कसुर मुद्दाको कैदी रहेको र २०८२ भाद्र २४ गते नख्खु कारागारबाट भागेको भन्ने समेत खुल्न आएको छ।
जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











