इन्द्रचोकको पोते बजारमा घट्यो चहलपहल, तीज नजिकिँदा पनि छैन कारोबारमा रौनक

टुना भट्ट
२०८३ भदौ २७ गते २१:०९ | Sep 12, 2026
इन्द्रचोकको पोते बजारमा घट्यो चहलपहल, तीज नजिकिँदा पनि छैन कारोबारमा रौनक
फाइल फोटो


काठमाडौं। तीजलक्षित भेला–भेटघाट सुरु हुने बेलामै भोटेकोशी–त्रिशूलीमा विनाशकारी बाढी आयो। देशका विभिन्न ठाउँमा महिलाका सामूहिक कार्यक्रम रोकिए। कतिपय समूहले तीजको सामूहिक दरका लागि छुट्याएको रकमसमेत बाढी प्रभावितको राहतमा दिए। कार्यक्रम रोकिएसँगै तीजको किनमेल पनि खुम्चियो। महिलाले तीजमा नछुटाई किन्ने पोतेको व्यापारमा समेत त्यसको असर देखिएको छ।

Vigo
GBIME
Tata

कुनै समय तीज नजिकिँदै गर्दा काठमाडौंको इन्द्रचोकस्थित पोते बजारमा खुट्टा टेक्ने ठाउँसमेत हुँदैनथ्यो। महिलाको भीड, रंगीबिरंगी पोतेका माला र ग्राहकको माग पूरा गर्न व्यस्त व्यापारीले बजारलाई चाडपर्वको रौनकले भरिदिन्थे। यसपटक भने तीजको मौसम सुरु भइसक्दा पनि इन्द्रचोकको पोते बजार सुनसान छ। सानातिना पोतेका माला किन्न फाट्टफुट्ट ग्राहक आए पनि विगतमा जस्तो कारोबार हुन सकेको छैन।

इन्द्रचोकमा ३७ वर्षदेखि पोतेको व्यापार गर्दै आएका रासिद उद्दीनलाई अहिलेको बजार अवस्था व्यवसाय सुरु गर्दाको समयजस्तै लाग्छ। ‘तीजका बेला यहाँ खुट्टा राख्ने ठाउँ हुँदैनथ्यो,’ उनी सम्झन्छन्, ‘अहिले सानातिना १०/२० रुपैयाँका माला किन्ने ग्राहक अलिअलि आउँछन्, व्यापार छैन।’

रासिदका अनुसार पोतेको मुख्य कारोबार सुनका गहनासँग जोडिएको छ। सुनको गहनामा पोते राख्न आउने ग्राहकबाट पोतेको राम्रो व्यापार हुने गरेको थियो। तर पछिल्लो समय सुनको मूल्य उच्च भएपछि नयाँ गहना बनाउने ग्राहक घटेका छन्। त्यसको प्रत्यक्ष असर पोतेको व्यापारमा परेको उनको भनाइ छ।

‘सुनको गहना बनाउने ग्राहक आउँदा पोतेको पनि राम्रो व्यापार हुन्थ्यो। अहिले सुन महँगिएपछि त्यो अवस्था छैन,’ उनी भन्छन्। ‘पहिला ठूला–ठूला तिलहरी, नौगेडीजस्ता गहनालाई पोते किन्ने ग्राहक हुन्थे। अहिले सस्तो पोते र दुई–चार लुङ मात्रै किन्नेहरू आउँछन्।’

सुनको मूल्य बढ्नुका साथै यसपटक भोटेकोशी–त्रिशूली बाढीले पनि बजारको मनोविज्ञानमा असर पारेको व्यापारीहरूको बुझाइ छ। बाढीमा भएको जनधनको क्षतिपछि धेरै परिवारको प्राथमिकता चाडपर्वको किनमेलभन्दा दैनिक आवश्यकता र क्षतिको व्यवस्थापनतर्फ सरेको उनीहरू बताउँछन्।

रासिदका अनुसार तीजमा मात्र होइन, विवाहको लगनमा समेत पोतेको खरिद विगतको तुलनामा घटेको छ। विवाहका लागि आवश्यक पोते किन्ने ग्राहक आए पनि पहिलेझैँ ठूलो परिमाणमा खरिद गर्ने प्रवृत्ति छैन। त्यसैले दिनभर पसलमा बसेर ग्राहक कुर्नुपर्ने अवस्था आएको उनी बताउँछन्।

यसपटक तीज आउनुभन्दा केही महिनाअघिदेखि नै ग्राहकको चहलपहल बढ्ने अपेक्षा गरेका व्यापारीले अहिले फाट्टफुट्ट ग्राहक मात्र देखिरहेका छन्। बजारमा आएका ग्राहक पनि पोते बनाउन वा ठूलो परिमाणमा खरिद गर्नुभन्दा हेरेर फर्किने बढी छन्।

इन्द्रचोकस्थित तैयव बिड्स स्टोरका सञ्चालक पनि यसपटक फुर्सदमा छन्। विगतमा ग्राहकसँग कुरा गर्ने समयसमेत नहुने उनको पसलमा अहिले ग्राहक कहिले आउलान् भनेर कुर्नुपर्ने अवस्था छ।

उनका अनुसार बजार सुस्तिनुको कारण बाढी र सुनको मूल्य वृद्धिमा मात्र सीमित छैन। पछिल्ला वर्षमा नक्कली गहनाको बजार विस्तार हुनु, पोते लगाउने चलनमा कमी आउनु र अनलाइन सपिङ बढ्नुले पनि पोतेको माग प्रभावित भएको छ।

‘अनलाइन सपका कारण पसलमा आएर पोते किन्ने र बनाउने ग्राहक घटेका छन्,’ तैयवले भने।

व्यापारीका अनुसार गत वर्षसम्म बिहान पसल खोलेदेखि बेलुकासम्म पोते बनाउन र बिक्री गर्न भ्याइनभ्याई हुन्थ्यो। यसपटक भने तीजका लागि आयात गरिएको सामानसमेत स्टोरमै थन्किएको छ। चीन, जापानलगायत मुलुकबाट आयात गरिने पोतेको लागत डलरको मूल्य बढ्दा महँगिएको उनीहरूको भनाइ छ।

अर्का एक पोते व्यवसायीले तीजको समयमा समेत बोहनी गर्न नसकेको गुनासो गरे। बजारमा तीजका लागि विशेष माग हुने रातो पोतेको सट्टा अन्य रंगका पोते राखेर ग्राहक पर्खिनुपरेको उनको भनाइ छ। तीजपछि दशैं, तिहार र मंसिरको विवाहको सिजनमा समेत व्यापार सुध्रिनेमा उनी विश्वस्त छैनन्।

‘यसपालि त बिहान नौ बजेदेखि बेलुका ७ बजेसम्म पसलमा मोबाइल चलाएरै दिन बित्ने गरेको छ,’ उनले भने।

तीजको मौसमले काठमाडौंका बजारमा चहलपहल बढाउने व्यापारीको अपेक्षा यसपटक पूरा हुन सकेको छैन। विगतमा तीजको मुख्य खरिद केन्द्र बन्ने इन्द्रचोकको पोते बजारमा अहिले रंगीबिरंगी पोतेले पसल भरिएका छन्, तर ग्राहकको भीड छैन।