आफन्त र चिनजानका बाटै बढ्दो आर्थिक अपराध, खाली चेक सबैभन्दा बढी प्रहरीकहाँ पुग्ने बाटो

सविन ढकाल
२०८३ भदौ २७ गते ०६:२१ | Sep 12, 2026
आफन्त र चिनजानका बाटै बढ्दो आर्थिक अपराध, खाली चेक सबैभन्दा बढी प्रहरीकहाँ पुग्ने बाटो


काठमाडौं। आर्थिक कारोबारमा सबैभन्दा ठूलो जोखिम कहिलेकाहीँ अपरिचितबाट होइन, आफन्त र चिनजानकै व्यक्तिबाट हुने गरेको छ। विश्वासकै आधारमा पैसा सुम्पिने, चेक लिने वा बैंक खातामा रकम जम्मा गर्नेहरू पछि ठगिएर प्रहरी र अदालतसम्म पुग्ने गरेका छन्। पछिल्ला वर्षहरूमा बैंकिङ कसुरसम्बन्धी उजुरीको बढ्दो संख्याले आर्थिक अपराधको यो प्रवृत्तिलाई देखाएको छ।

Vigo
GBIME
Tata

ताप्लेजुङकी २५ वर्षीया संगिता लिम्बू (नाम परिवर्तन) पनि यस्तै कारोबारमा ठगिइन्। ठग्ने एउटै जिल्लाका ४२ वर्षीय चिनजानका व्यक्ति मात्र थिएनन्, नजिकका नातेदार पनि थिए।

ती व्यक्तिले संगितालाई युरोपको लग्जेम्बर्गमा वैदेशिक रोजगारीका लागि पठाइदिने र मासिक चार लाख रुपैयाँसम्म आम्दानी हुने आश्वासन दिए। आफन्तसमेत भएकाले उनले विश्वास गरिन्। त्यसपछि ती व्यक्तिले दिएको बैंक खातामा पटक–पटक गरी २७ लाख ७२ हजार रुपैयाँ जम्मा गरिन्।

६ महिनासम्म भिसा आउने आश्वासन पाएपछि पनि काम अघि नबढेपछि उनले पैसा फिर्ता मागिन्। त्यसपछि उनलाई चेक दिइयो। तर बैंकमा पुग्दा चेक साटिएन। पटक–पटक प्रयास गर्दा पनि रकम प्राप्त नभएपछि संगिताले प्रहरीमा उजुरी गरिन्। प्रहरीले अनुसन्धान पूरा गरेर अदालतमा मुद्दा दायर गरेको छ।

प्रहरीका अनुसार वैदेशिक रोजगारीका नाममा हुने ठगीका धेरै घटनामा पनि पीडित र आरोपितबीच पहिल्यै चिनजान हुने गरेको छ। आफन्त वा विश्वासिलो व्यक्तिमार्फत रकम बुझाइने भएकाले सुरुवाती चरणमा ठगीको शंका कम हुन्छ। तर रकम बैंक खातामा पुगेको प्रमाण हुने भएकाले पछि विवाद बैंकिङ कसुरतर्फ मोडिने गरेको प्रहरी अधिकारीहरू बताउँछन्।

यस्तै प्रकृतिको अर्को घटना कञ्चन क्यासमिरी इन्डष्ट्रिज प्रालिसँग जोडिएको छ। कम्पनीका सञ्चालक कञ्चनकुमारी पाठक र सुशीला कुँवरबीच राम्रो चिनजान थियो। व्यवसायिक कारोबारकै क्रममा कञ्चनले खाद्यान्न खरिदबापत कम्पनीको नाममा रहेका दुईवटा चेक दिइन्। एउटा पाँच लाख र अर्को चार लाख ७५ हजार रुपैयाँको थियो।

तर बैंकमा प्रस्तुत गर्दा खातामा पर्याप्त रकम नभएको भन्दै दुवै चेक बाउन्स भए। त्यसपछि सुशीलाले प्रहरीमा उजुरी गरिन्। प्रहरीको अनुसन्धानमा खातामा पर्याप्त मौज्दात नभएको जानकारी हुँदाहुँदै चेक दिएको देखिएपछि कञ्चनकुमारीविरुद्ध जिल्ला अदालत काठमाडौंमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर भएको हो। उनी अहिले प्रहरीको फरार सूचीमा छिन्।

यी दुई घटना आर्थिक अपराधमा देखिएको एउटा साझा प्रवृत्तिका उदाहरण हुन्। कारोबारको आधार पैसा मात्र होइन, सम्बन्ध र विश्वास पनि हुने गरेको छ। घरायसी आवश्यकतादेखि व्यवसायिक कारोबार र वैदेशिक रोजगारीसम्ममा चिनजानकै व्यक्तिलाई विश्वास गरेर रकम बुझाउने प्रवृत्तिले आर्थिक अपराधको जोखिम बढाएको प्रहरीको निष्कर्ष छ।

‘आर्थिक कारोबार धेरैजसो चिनेका व्यक्तिसँग नै हुन्छ। त्यसैले पीडित पनि चिनेका व्यक्तिबाट नै हुने गरेका छन्। पछिल्लो समय आर्थिक घटना हाम्रो लागि चुनौतीपूर्ण देखिएको छ,’ नेपाल प्रहरीका प्रवक्ता डीआइजी अविनारायण काफ्लेले भने।

आर्थिक अपराध बढिरहेको तथ्य प्रहरीको तथ्यांकले पनि देखाउँछ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभर ६० हजार ६१ वटा मुद्दा दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ५८ हजार ४७२ मुद्दा दर्ता भएको थियो। एक वर्षमा मुद्दाको संख्या ४.३१ प्रतिशतले बढेको हो।

यो वृद्धिमा बैंकिङ कसुरको हिस्सा ठूलो छ। प्रहरीको रेकर्डअनुसार गत आर्थिक वर्ष बैंकिङ कसुरसम्बन्धी १२ हजार ९५० वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये काठमाडौं उपत्यकामा मात्रै ६ हजार २२ वटा मुद्दा दर्ता भएका थिए।

अर्थात् बैंकिङ प्रणालीमा कारोबार बढेसँगै त्यसको दुरुपयोगसम्बन्धी विवाद पनि बढिरहेको छ। चेकमा रकम नभएको थाहा हुँदाहुँदै चेक दिने, विश्वासमा लिएको रकम फिर्ता नगर्ने वा वैदेशिक रोजगारीलगायतका नाममा बैंक खातामार्फत रकम उठाउने घटनामा पीडितले बैंकिङ कारोबारको प्रमाण देखाएर कानुनी उपचार खोज्ने गरेका छन्।

आर्थिक अपराधको यो स्वरूपले एउटा अर्को जोखिम पनि देखाएको छ। विश्वासमा आधारित कारोबारमा औपचारिक सुरक्षा कमजोर हुँदा सम्बन्ध नै अपराधको माध्यम बन्न सक्छ। आफन्त वा चिनजानको व्यक्ति भएकै कारण लिखित सम्झौता, कारोबारको उद्देश्य र रकमको स्रोत–प्रयोगबारे पर्याप्त प्रमाण नराख्ने प्रवृत्तिले विवाद बढेपछि पीडितलाई कानुनी बाटो खोज्न बाध्य बनाउने गरेको छ।