आशिफको शतक र गुल्सनको अर्धशतकले यूएईलाई ३१४ रनको बलियो लक्ष्य, नेपाल पुग्ला एसिया कप?

बिजमाण्डू
२०८३ भदौ २७ गते ११:१० | Sep 12, 2026
आशिफको शतक र गुल्सनको अर्धशतकले यूएईलाई ३१४ रनको बलियो लक्ष्य, नेपाल पुग्ला एसिया कप?


काठमाडौं। नेपाली क्रिकेट टोलीले यूएईसामू ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ। एसीसी प्रिमियर कपको फाइनलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रनको विशाल स्कोर खडा गरेको हो।

Vigo
GBIME
Tata

नेपालको विशाल स्कोर बनाउन आशिफ शेख र गुल्सन झाले महत्वपूर्ण भूमिका खेले। आशिफले शतकीय इनिङ्स खेल्दै १०६ बलमा ८ चौका र ४ छक्काको सहायतामा १०२ रन बनाए। उनलाई ३५.३ ओभरमा हैदरअलीले आयान खानबाट क्याचआउट गरे। त्यस्तै, गुल्सन झाले अर्धशतकीय इनिङ्स खेले। उनले ३८ बलमा ३ छक्का र ४ चौकाको सहायतामा ५२ रन बनाए।

आशिफ शेख। Photo: ACC via CAN

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनरद्वय शेख र अर्जुन कुमालले ९७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। कुमाल ४३ रन बनाएर रनआउट हुँदा अर्का ब्याटर इशान पाण्डे १३ रन बनाएर अदीप उस्मानीको बलमा तानिस सुरीबाट क्याचआउट भए।

यसबाहेक रोहित पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८ तथा सन्दीप जोराले ७ रनको योगदान दिए। अन्तिम ओभरसम्म टिकेका बसीर अहमदले ४ बलमा १५ रन बनाउँदै अविजित रहे।

बलिङमा यूएईका इब्रार अहमदले सर्वाधिक ४ विकेट लिँदा खुजैमा बिन तन्विरले २ तथा हैदर अली र अदीप उस्मानीले समान १ विकेट लिए।

यूएई केहीबेरमा जवाफी ब्याटीङमा उत्रिँदैछ।

आजको खेलमा विजयी टोली एसीसी एसिया कपमा पुग्नेछ।