काठमाडौं। नेपाली क्रिकेट टोली एसीसी एसियन कप पुग्न भन्दा दुई कदम टाढा छ। मलेसियामा जारी एसीसी प्रिमियर कपमा अब लगातार दुई खेल जिते नेपालले एसिया कप खेल्नेछ।
नेपालले अहिलेसम्म एकपटकमात्रै एसिया कप खेलेको छ। सन् २०२३ मा पहिलो पटक एसिया कप खेल्दा नेपालले भारत र पाकिस्तानसँग पहिलो पटक सिनियर क्रिकेटमा प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो।
यसपाला नेपालले एसिया कप खेल्ला? यसको निर्णय अबका दुई खेलले गर्नेछन्। १० टोली सहभागी एसीसी प्रिमियर कपको च्याम्पियन टोलीले मात्र एसिया कप खेल्न पाउनेछन्।
नेपालले समूह चरणमा चार खेलमध्ये तीनवटामा जित निकाल्दै समूह विजेता बनेर सेमिफाइनलमा पुगेको छ। अर्को समूहको उपविजेता ओमन अबको नेपालको प्रतिस्पर्धी हो।
आज बिहान सवा ७ बजे यो खेल सुरु हुनेछ। यी दुवै टोलीका लागि उत्तिकै महत्त्वपूर्ण यो खेलको नतिजा आकलन गर्न त्यति सहज छैन। यसलाई बुझ्न यी दुई टोलीको जारी प्रतियोगिताको लयलाई हेर्नुपर्ने हुन्छ।
भर्खरै कप्तान फेरेका यी दुई टोली एसोसिएटमा चर्को प्रतिस्पर्धा चल्ने टोलिका रुपमा चिनिन्छन्। एकदिवसीय वरीयतामा ओमन १७ औँ र नेपाल १८ औँ स्थानमा छन्।
ओमनको बलियो ब्याटिङ रोक्ने चुनौती
ओमनले जारी प्रतियोगितामा ४ खेल खेल्दा २ वटामा जित निकाल्यो। उसले सिंगापुरलाई १३१ रनले, कतारलाई ५ विकेटले हराउँदा यूएईसँग ४९ रन र कुवेतसँग ४ विकेटको हार ब्यहोर्यो।
उसलाई यसपाला सेमिफाइनल पुग्नै निक्कै मुस्किल परेको छ। यूएईले ४ खेल खेलेर सबै जित निकाल्दा उसले औशत खेल्यो। समूह चरणमा ओमन, कुवेत र कतारको समान ४ अंक थियो। रनरेटका आधारमा मात्रै उ सेमिफाइनल आएको हो।
कमजोर देखिएको पछिल्लो प्रदर्शनका बीच पनि ओमनको बलियो पक्ष ब्याटिङ देखिन्छ। उसले सिंगापुरविरुद्ध ३१६ रन र कुवेतविरुद्ध २५२ रन बनाउँदा कुवेतविरुद्ध २५२ र यूएईविरुद्ध १४३ रन बनाएको थियो। यूएईविरुद्धको खेललाई छाड्ने हो भने उसको ब्याटिङ राम्रो छ।
ब्याटिङमा उसको टोलीका हमद मिर्जा र विनायक शुक्ला नेपालका लागि चुनौती बन्न सक्छन्। जारी प्रतियोगितामा मिर्जाले १७३ रन बनाएका छन् भने शुक्लाले १६७ रन बनाएका छन्। यो सूचीमा नेपालका सर्वाधिक रन बनाएका इशान पाण्डे अलि पछाडि छन्।
बलिङमा ओमनका हसनयन साहले १० विकेट लिएर सूचिको दोस्रो स्थानमा छन्। शीर्षमा भने नेपाली कप्तान सन्दीप लामिछाने छन्।
नेपालको चिन्ता बढाउने दुई कुरा!
नेपाली टोलीले लगातार ३ खेलमा जित निकालेर एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको थियो। जारी प्रतियोगितामा नेपाल सतर्क हुनुपर्न दुईवटा पक्ष देखिन्छन्।
पहिलो, नेपालको ब्याटिङ। समूह चरणमा नेपाल रहेको समूहमा एकमात्रै एकदिवसीय मान्यता प्राप्त टोली नेपाल नै थियो। तर, ४ खेल खेल्दा एउटा खेलमा मात्रै नेपालले २ सय रनको आँकडा पार गर्यो। सामान्य स्कोर पछ्याउनलाई नेपाली ब्याटिङले संघर्ष नै गर्यो।
नेपाली ब्याटिङमा शीर्षक्रमका ब्याटर रोहित पौडेल चल्दैचलेका छैनन्। दीपेन्द्रसिंह ऐरीको पनि जादु देखिएको छैन।
ब्याटिङमा इशान पाण्डेमाथि नेपाल धेरै निर्भर देखिन्छ। यस्तोमा लगातार ठूलो स्कोर बनाइरहेको ओमनविरुद्ध नेपाललाई चुनौती हुने देखिन्छ।
नेपाली टोलीमा देखिएको अर्को समस्या हो – इनकन्सिस्टेन्सी। नेपाली टोलीको प्रदर्शनमा एकरुपता छैन। तीनवटा खेल बलिङको दममा जितेको नेपालले पछिल्लो खेलमा हङकङसँग हार ब्यहोरेको थियो। पटक-पटक मोमेन्टम बनाएर पनि त्यसलाई अघि बढाउन नसक्दा नेपालले हार ब्यहोरिरहेको छ।
नेपालका लागि सर्वाधिक रन बनाएका इशान पाण्डे नै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा १२ औँ स्थानमा छन्। उनले १५१ रन बनाएका छन्। उनी पछि त झन स्थिति खराब छ।
जारी प्रतियोगितामा नेपालका लागि दोस्रो धेरै रन बनाएका अर्जुन कुमाल तालिकाको २२ औँ स्थानमा छन्। कुशल भुर्तेलको अनुपस्थितिमा ओपनिङको जिम्मेवारी पाएका उनले मात्रै ११० रन बनाएका छन्।
बलिङमा भने नेपालको उपस्थिति बलियो छ। नेपाली टोलीमा पेसर करण केसी र हेमन्त धामी छन्। गुल्सनले पनि बीचबीचमा जिम्मेवारी लिन सक्छन्। तर, मलेसियामा नेपाली टोलीले स्पिन अट्याकलाई नै विश्वास गरेको छ। यसमा नेपाल सफल पनि भएको छ।
कप्तान सन्दीप लामिछानेले कुल १३ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको शीर्षस्थानमा छन्। नेपालका लागि दोस्रो र तेस्रो धेरै विकेट ललित राजवंशी र करण केसीले लिएका छन्। उनीहरुले क्रमश: ७ र ६ विकेट लिएका छन्।
मात्रै दुई जित!
एसिया कप खेल्न नेपाललाई अब चाहिएको छ मात्रै दुई जित। सेमिफाइनलमा ओमनलाई हराएर फाइनल जित्न सके फेरि क्रिकेट बृत्तमा नेपाल चम्किन सक्छ। प्रतियोगितामा देखिएका दुई गल्तीलाई सुधारे नेपाल यसमा सफल बन्न सक्छ।
‘म विश्वस्त छु। सेमिफाइनलमा हामी पुनरागमन गर्नेछौँ,’ हङकङसँगको हारपछि कप्तान लामिछानेले भनेका थिए।










