उद्योगमन्त्रीको विवादास्पद अभिव्यक्तिसँगै प्रधानमन्त्री कार्यालयले बोलायो उद्योगी, ‘हामी काम गर्न सक्दैनौं’



बिजमाण्डू
२०८३ भदौ २४ गते १६:३९ | Sep 9, 2026
उद्योगमन्त्रीको विवादास्पद अभिव्यक्तिसँगै प्रधानमन्त्री कार्यालयले बोलायो उद्योगी, ‘हामी काम गर्न सक्दैनौं’


काठमाडौं। उद्योगमन्त्री गौरीकुमारी यादवले उद्योगीको पाता नफर्काएसम्म ग्यास सहज नहुने विवादास्पद अभिव्यक्ति दिएकी छन्।

Vigo
GBIME
Tata

प्रतिनिधि सभाको उद्योग समितिको बुधबारको बैठकमा उनले अहिलेको ग्यास अभावमा उद्यवगीलाई दोषी देखाउँदै पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी हुन्।

‘५८ वटा ग्यास उद्योग किन चाहियो? करोडौं रुपैयाँ लिएर लाइसेन्स दिएको छ। उद्योगीहरुलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन,’ उनले भनिन्।

पृथ्वी राजमार्गमा पर्ने कृष्णभीरको सडक भासिएपछि उद्योगीले चितवन, नवलपरासी, हेटौंडा र पर्सामा रहेका बोटलिङ प्लान्टमा ग्यास रिफिल गरेर काठमाडौंमा आपूर्ति गरिरहेका छन्।

कान्ति र त्रिभुवन लोकपथको बाटो सानो भएकाले ग्यास बुलेट चल्न नसक्ने भएकाले १० र १२ चक्के गाडीमा सिलिण्डर ल्याएर काठमाडौंमा आपूर्ति गरिरहेका बेला उद्योगमन्त्री यादवको अभिव्यक्तिले गम्भीर आहत बनाएको उद्योगीले बताएका छन्।

‘हामीले दिनरात नभनी नाफा नोक्सान नहेरी ग्यास काठमाडौं ल्याएर आपूर्ति सहज बनाउन प्रयास गरिरहेका छौं। यस्तो बेला उद्योगीमाथि गम्भीर आक्षेप लगाउने काम मन्त्रीबाट हुनु दूर्भाग्यपूर्ण छ,’ एसजी ग्रुप एवं नेपाल ग्यास उद्योगका संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले बिजमाण्डूसँग भने, ‘अब मन्त्रीज्यूले कृष्णभीर पनि हामीले भत्काएको हो भन्दा हुन्छ।’

उनले उद्यमशीलतामाथि पटकपटक प्रश्न गरेर व्यवसाय नै गर्न नसक्ने अवस्था आउन थालेको बताए। ‘सरकारले उद्यमशीलतामाथि प्रश्न गर्ने मात्रै होइन, हतोत्साही बनाउने काम गरेको छ। वास्तविकता जान्दाजान्दै मन्त्रीले दिएको अभिव्यक्तिले काम गर्न नसक्ने अवस्था आएको छ,’ घिमिरेले भने, ‘आधा सिलिण्डर ग्यास फूल गरौं भन्दा निर्णय नगर्ने। अनि भवितव्यले ग्यास नआउँदा जनताको आक्रोश आउनेबित्तिकै अरुलाई थोपरेर पानीमाथिको ओभानो बन्ने कामले कसैको पनि हित गर्दैन।’

यादवले विवादास्पद अभिव्यक्ति दिएको यो पहिलो पटक होइन। यसअघि पनि ग्यास अभाव हुँदा पुराना राजनीतिक दलको लगानी भएको ग्यास उद्योगका कारण आपूर्ति सहज हुन नसकेको धारणा राखेकी थिइन्।

उद्योगीसँगको आन्तरिक छलफलमा उनले यो विषय उठाएपछि उद्योगीहरुले ठाडै अस्वीकार गर्दै कसरी आपूर्तिमा असहयोग भयो भन्दै प्रश्न गरेका थिए।

उद्योगमन्त्रीको अभिव्यक्तिसँगै प्रधानमन्त्री कार्यालयले छलफलका लागि उद्योगीलाई बोलाएको छ। ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द, पूर्वअध्यक्ष गोकुल भण्डारी र शिवप्रसाद घिमिरे छलफलका लागि सिंहदरबार जाँदैछन्। उनीहरुले उद्योगमन्त्री यादवले दिएको अभिव्यक्तिले कामै गर्न नसक्ने अवस्था आएको जानकारी गराउनेछन्।