काठमाडौं। नेपालमा गएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा युरोपेली फुटबलले ऐक्यबद्धता जनाउने भएको छ।
युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले यसै साता हुने च्याम्पियन्स लिगका सबै खेलअघि नेपालका बाढी पीडितको सम्मानमा एक मिनेट मौनधारण गर्ने जनाएको छ।
यूईएफएको विज्ञप्ति अनुसार खेलअघि रंगशालामा ‘यू आर नट अलोन, नेपाल’ अर्थात् ‘नेपाल, तिमी एक्लो छैनौ’ भन्ने सन्देशसहितको ब्यानर पनि प्रदर्शन गरिनेछ।
यस साता च्याम्पियन्स लिगका १८ खेल हुँदैछन्। ती सबै खेलअघि खेलाडी, प्रशिक्षक, रेफ्री तथा समर्थकले बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा मौनधारण गर्नेछन्।
नेपालमा भदौ १० गते आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ। बाढीपछि खोज तथा उद्धार कार्य अझै जारी रहेको छ भने ठूलो संख्यामा मानिस बेपत्ता छन्। सोमबार बाढी पीडितको सम्झनामा राष्ट्रिय शोकसमेत मनाइएको छ।
यसअघि ला लिगाका बार्सिलोना, रियल मड्रिडलगायतका टोलीले पनि नेपालको बाढी पीडितका लागि ऐक्यबद्धता जनाएका थिए।











