काठमाडौं। रियल इस्टेट व्यवसायीलाई १५ दिने तालिम दिन लागिएको छ।
नेपाल जग्गा तथा आवास विकास महासंघको व्यवस्थापनमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला र सामान्य प्रशासन मन्त्रालय मातहतको भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले तालिम सञ्चालन गर्न लागेको हो।
असोज ६ गतेबाट काठमाडौंमा हुने तालिममा महासंघका सदस्यका साथै घरजग्गा तथा रियल इस्टेट व्यवसाय सञ्चालन गरिरहेका व्यक्ति तथा संस्थाका प्रतिनिधि, इजाजतपत्र प्राप्त रियल इस्टेट एजेन्ट र घरजग्गा तथा रियल इस्टेट एजेन्टको इजाजतपत्र प्राप्त गर्न इच्छुक व्यक्ति सहभागी हुन सक्ने छन्।
घरजग्गा किनबेच डिजिटल प्रणालीमा गएसँगै यसबारे प्रशिक्षण दिन र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा चनाखो बनाउन पनि तालिम आवश्यक परेको महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताए। ‘तालिममा नापनक्सा, मार्केटिङ टिप्सदेखि मनी लाउन्ड्रिङसम्मका विषयवस्तु छन्,’ घिमिरेले भने।
तालिममा सहभागी हुन प्रति व्यक्ति ५५ हजार रुपैयाँ शुल्क तोकिएको छ। महासंघले खाना र खाजामा थप खर्च बेहोर्ने गरी यो शुल्क तोकेको जनाएको छ।
आवेदकको न्यूनतम योग्यता १२ कक्षा उत्तीर्ण तोकिएको छ। तालिम असोज २२ गतेसम्म चल्ने तालिम तथा प्रशिक्षण समितिका संयोजक घनश्याम पोखरेलले बताए।











