विकास मोडल पुनर्विचार गर्न राष्ट्रपति पौडेलको आग्रह, विपद्‍का बेला एकताबद्ध हुन दलहरुलाई आह्वान



बिजमाण्डू
२०८३ भदौ २२ गते १६:०३ | Sep 7, 2026
विकास मोडल पुनर्विचार गर्न राष्ट्रपति पौडेलको आग्रह, विपद्‍का बेला एकताबद्ध हुन दलहरुलाई आह्वान


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण राजनीतिक दललाई अहिलेको कठिन घडीमा एकताबद्ध भएर उभिन आह्वान गरेका छन्।

Vigo
GBIME
Tata

उनले सोमबार बाढीग्रस्त नुवाकोट र रसुवाको अवलोकन गरेर फर्किएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राजनीतिक दल , निर्वाचित जनप्रतिनिधि, नागरिक समाज र निजी क्षेत्रलाई अहिले दोषारोपणको समय नभएको भन्दै एकतावद्ध हुन आह्वान गरेका हुन्।

‘यो विभाजनको समय होइन। एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन। यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनर्स्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो,’ उनले भने।

उनले देशको विकास मोडेलमाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्। उनले आफू विपत्तीमा परेकाहरुको साथमा रहेको भन्दै उनीहरुको आवाज सुन्नु र पीडाप्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य भएको बताए।

‘त्यसैले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन समाधानका लागि प्राप्त महत्वपूर्ण सङ्केतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु,’ उनले भने।

राष्ट्रपति पौडेलले भदौ १० गतेको बाढीमा बेपत्ता भएकाहरुको खोजी कार्य स्थगित नगर्न सरकारको ध्यानाकर्षण समेत गराए। ‘कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक र अस्थिर एवम् जोखिमपूर्ण परिस्थिति हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई अवरुद्ध गर्ने वा परित्याग गर्ने कारण बन्नु हुँदैन,’ उनले भने।

उनले बाढीमा परेकाहरुको खोजी, उद्धार र राहतमा खटिएकाहरुको प्रशंसा समेत गरे। उनले ज्यानको पर्वाह नगरी उद्धार कार्यमा खटिएको भन्दै खासगरी सुरक्षाकर्मीको प्रशंसा गरेका हुन्।

‘विपत्तिमा प्रत्यक्षरूपमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा उद्धार र राहतमा संलग्न सम्पूर्ण व्यक्ति र संस्थाप्रति म उच्च सम्मान व्यक्त गर्दछु। उद्धार कार्यमा संलग्न धेरैले आफ्नो ज्यानको समेत पर्वाह नराखी पीडित तथा प्रभावित नागरिकहरूको उद्धारका लागि अत्यन्त जोखिमपूर्ण क्षेत्रमा प्रवेश गर्नुभएको छ। वास्तवमा उहाँहरूको अदम्य साहस, समर्पण र सेवाभाव नेपालको उत्कृष्ट मानवीय भावना र राष्ट्रिय चरित्रको प्रतिनिधित्व गर्दछ भन्ने कुरा म गर्वका साथ यहाँ भन्न चाहन्छु,’ उनले भने।

उनले उद्धार गरिएका प्रत्येक व्यक्तिको खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार र मनोसामाजिक सेवाको पहुँच सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

‘अहिले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका र विशेष संरक्षण आवश्यक पर्ने नागरिकहरूप्रति विशेष ध्यान दिन आवश्यक छ। साथै अस्थायी आश्रयस्थल सुरक्षित तथा मर्यादित हुनुपर्छ भन्ने विषयमा हामी विशेष रूपमा सचेत र संवेदनशील रहनुपर्छ,’ उनले भने।

उनले विपद्पछिको उद्धार र राहत वितरणमा प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

‘सरकारबाट राज्यका स्थानीयलगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने म विश्वास व्यक्त गर्दछु। सबैभन्दा महत्वपूर्ण कुरा हामीले यस विपत्तिमा ज्यान गुमाउनुभएकाप्रति मर्यादा, सम्मान र करुणाका साथ व्यवहार सुनिश्चित गर्नुपर्दछ,’ उनले भने।

राष्ट्रपति पौडेलले बाढीमा परेर घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकलाई अहिले राज्यको साथ र भरोसा चाहिएको भन्दै यसमा क्रियाशील हुन राजनीतिक दलहरुलाई पनि आग्रह गरे।

राष्ट्रपति पौडेलले जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेका छन्। ‘म अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु,’ उनले भने।