साउदी अरबलाई ५ विकेटले हराउँदै नेपाल एक खेल अगावै प्रिमियर कपको सेमिफाइनलमा



बिजमाण्डू
२०८३ भदौ २१ गते १४:१० | Sep 6, 2026
साउदी अरबलाई ५ विकेटले हराउँदै नेपाल एक खेल अगावै प्रिमियर कपको  सेमिफाइनलमा
ब्याटिङमा देव खनाल। तस्बिर: CAN via ACC


काठमाडौं। नेपाली क्रिकेट टोलीले साउदी अरबलाई हराएको छ। एसीसी प्रिमियर कप अन्तर्गत आज सम्पन्न खेलमा नेपालले साउदी अरबमाथि ५ विकेटको जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।

Vigo
GBIME
Tata

मलेसियाको क्वाललाम्पुरस्थित वायुमास ओभलमा टस जितेर ब्याटिङमा उत्रिएको साउदी अरबले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

नेपालका लागि गुल्सन झाले सर्वाधिक अविजित ४४ रन बनाउँदा इशान पाण्डेले ४० तथा देव खनालले ३९ रनको योगदान दिए। त्यस्तै रोहित पौडेलले २४, आशिफ शेखले २० तथा अर्जुन कुमालले १५ रन बनाए।

बलिङमा साउदीका इस्तिया अहमद र मोहम्मद आतिफले समान २ विकेट लिँदा मोहम्मद हिसमले १ विकेट लिए।

एसीसी प्रिमियर कपको समूह चरणको खेलमा नेपालको यो लगातार तेस्रो जित हो। यसअघिका दुई खेलमा नेपालले बहराइन र मलेसियालाई हराइसकेको छ। नेपालले समूह अब हङकङसँग भिड्न बाँकीछ।

चार खेल खेल्दा ३ वटामा हार ब्यहोरेको साउदी अरब प्रतियोगिताबाट बाहिरिएको छ भने नेपाल एक खेल अगावै सेमिफाइनल पुगेको छ। नेपालसँगै सेमिफाइनल पुग्ने होडमा हङकङ, मलेसिया र बहराइन छन्। यी मध्ये हङकङ ४ अंकसहित बलियो स्थितिमा छ भने समान २ अंकसहित मलेसिया र बहराइनले झिनो सम्भावना कायम राखेका छन्।  

त्यसअघि ब्याटिङमा उत्रिएको साउदीका लागि ओपनर अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाउँदा मोहम्मद अतिफले ३० तथा मोहम्मद हिसामले २८ रनको योगदान दिँदा १९० रनको स्कोर खडा गरेको थियो।

बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३ विकेट लिए। किफायती बलिङ गरेका लामिछानेले आफ्नो स्पेल बलिङ गर्दै २ मेडन राख्दै मात्रै १९ रन दिएर ३ विकेट लिए। ऐरीले ४३ रन दिएर ३ विकेट लिए।

नेपालले मंगलबार हङकङसँग खेल्नेछन्। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। यो प्रतियोगिताको च्याम्पियन टोलीले एसीसी एसिया कप खेल्नेछ।