ग्लोबल आइएमई बैंकले राहत तथा उद्धारका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने



बिजमाण्डू
२०८३ भदौ ११ गते १२:४६ | Aug 27, 2026
ग्लोबल आइएमई बैंकले राहत तथा उद्धारका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने


काठमाडौं। ग्लोबल आइएमई बैंकले भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा गरेको छ।

Vigo
GBIME
Tata

भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको हो।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रहरूमा व्यापक कटान र डुबान निम्त्याई ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

नदीको तीव्र बहावले सयौँ नागरिकको अकालमै ज्यान गएको, कैयौँ बेपत्ता भएको तथा सयौँ परिवार घरबारविहीन भई विस्थापित हुनुपरेको छ। साथै, नदीले स्थानीय बस्ती, पुल, सडक सञ्जाल तथा जलविद्युत् आयोजनाहरू बगाएर अभूतपूर्व विनाश निम्त्याएको छ।

बाढी र पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै बैंकले बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावितहरूलाई तत्काल खाद्यान्न एवं बासस्थानको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सघाउ पुर्‍याउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।

बैंकले सामाजिक उत्तरदायित्वलाई राष्ट्रिय संकट र विपद्को घडीमा नागरिकको घाउमा मलम लगाउने मुख्य कर्तव्यका रूपमा लिँदै आएको छ। यसअघि पनि देशका विभिन्न भू-भागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्हरूमा बैंकले अग्रपंक्तिमा रहेर आर्थिक, भौतिक तथा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको छ।