बाढीले बगायो ४१ पुलः सरकारसँग छैनन् पर्याप्त बेलिब्रिज, रोड र पुलमा २० अर्बको क्षति



बिजमाण्डू
२०८३ भदौ १० गते २३:१७ | Aug 26, 2026
बाढीले बगायो ४१ पुलः सरकारसँग छैनन् पर्याप्त बेलिब्रिज, रोड र पुलमा २० अर्बको क्षति


काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढीले त्रिशूलीसम्म ४१ वटा पुलमा क्षति पुर्‍याएको छ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार ४१ वटा पुल पूर्ण रूपमा वासआउट भएका छन्।

Vigo
GBIME
Tata

न्यौपानेका अनुसार ३२ वटा पुरै बगाएको र ३ वटा ड्यामेज भएका छन्।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ। सार्वजनिक प्रारम्भिक विवरण अनुसार त्रिशूली बेसिनका करिब ३० भन्दा बढी पुल पूर्ण रूपमा वासआउट तथा केहीमा क्षति पुगेको छ।

रसुवाको मितेरी पुल (रसुवागढी) देखि नुवाकोटको देवीघाट र त्रिशूली बजार क्षेत्रसम्मका अधिकांश पक्की तथा बेलीब्रिज बाढीले बगाएको छ। रसुवागढी, टिमुरे, चिलिमे, स्याफ्रुबेसी, मैलुङ र बेत्रावती क्षेत्रका पुल बगाएको हो।

गल्छी, बैरेनी, मलेखु (फुर्के खोला), र घाटबेसी क्षेत्रका त्रिशूली नदीमा रहेका पुल क्षतिग्रस्त छन् भने बेनीघाट, फिस्लिङ, चुम्लिङटार र मुग्लिनतर्फका केही पुल भने सुरक्षित रहेको न्यौपानेले बताए।

प्रारम्भिक सूचना अनुसार ५० किलोमिटर जति सडक पूर्ण रूपमा वासआउट भएको छ।

‘पुल र सडक गरी कम्तीमा २० अर्बको क्षति भएको छ। पुनर्निर्माण गर्न ५० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। हाम्रो अहिलेसम्मको तथ्याङ्क अनुसार २० अर्ब लागतका पुल र सडक वासआउट भएका छन्। यसलाई बनाउन धेरै पैसा लाग्छ। यसका लागि ५० अर्ब रुपैयाँ लागत लाग्ने हाम्रो अनुमान छ,’ उनले भने।

सम्बन्धित निकायले अवरुद्ध सडक तथा पुलहरूको मर्मत र वैकल्पिक व्यवस्थाका लागि तथ्याङ्क संकलन तथा उद्धार कार्यलाई तीव्रता दिएको न्यौपानेले बताए।

पृथ्वी राजमार्गमा गदौली र मुग्लिन सडक खण्डमा सबै लेदो क्लियर भइसकेको छ। सबैभन्दा समस्याग्रस्त खण्ड बैरेनीदेखि गलौदीसम्मको सडक रहेको छ। यसमा विभिन्न स्थानमा ठूलो मात्रामा लेदो र हिलो जमेको न्यौपानेले बताए।

न्यौपानेका अनुसार बैरनी खण्डमा १३०० मिटर जति सडक विशेष रूपमा प्रभावित भएको छ। सडकमा जम्मा भएको गेग्रनसहितको लेदो ३ मिटरसम्म अग्लो छ।

सरकारसँग छैन मौज्दातमा बेलीब्रिज

रसुवाको बाढीले पुल बगाएपछि अस्थायी रूपमा राख्नुपर्ने बेलीब्रिजको मौज्दात अहिले सरकारसँग पर्याप्त छैन। पुल महाशाखाका एक इन्जिनियरका अनुसार सडक विभागसँग अहिले ४५ मिटर लामा ८ वटा मात्रै बेलीब्रिज स्टकमा छन्। जुन अहिलेको अवस्था पुग्ने मौज्दात हैन।

‘अहिले हामीसँग ६/७ वटा बेलीब्रिजहरु मात्रै स्टकमा रहेका छन्। हामीसँग अहिले भएको परिस्थितलाई व्यवस्थापन गर्न पुग्ने छैन,’ ती इन्जिनियरले भने।

बाढीको प्रभाव सकिएपछि मुख्य र आवश्यक पर्ने स्थानमा मात्रै बेलीब्रिज हाल्ने योजना रहेको उनले बताए।