विदेशी कूटनीतिक नियोगहरूको नेपाललाई ढाडस, ‘विपदमा साथमा छौं, सहायता परिचालनमा सघाउँछौं’



बिजमाण्डू
२०८३ भदौ १० गते २२:४० | Aug 26, 2026
विदेशी कूटनीतिक नियोगहरूको नेपाललाई ढाडस, ‘विपदमा साथमा छौं, सहायता परिचालनमा सघाउँछौं’


काठमाडौं। नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगहरूले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिमा दुःख व्यक्त गरेका छन्।

Vigo
GBIME
Tata

दूतावासहरूले संयुक्त तथा एकल वक्तव्यहरू जारी गर्दै सहयोगको प्रतिबद्धता पनि जनाएका छन्।  

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले वक्तव्य जारी गर्दै विनाशकारी बाढीको क्षतिमा दुःख व्यक्त गर्दै युरोपेली सहयोग परिचालनमा प्रतिबद्धता जनाएकी छन्।

नेपालस्थित अस्ट्रेलिया, युरोपेली संघ, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विजरल्याण्ड र संयुक्त अधिराज्यका दूतावासहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नुवाकोट र रसुवा बाढीले पुर्‍याएको क्षतिमा दुःख व्यक्त गरेका छन्।

विपत्तिको कठिन समयमा आफूहरू नेपाली जनतासँगै रहेको संयुक्त वक्तव्यमा जनाइएको छ। बाढी प्रभावित क्षेत्रका नागरिकलाई स्थानीय अधिकारीहरूको निर्देशन र आधिकारिक सुरक्षा सल्लाहको पालना गर्न पनि उनीहरूले अपिल गरेका छन्।

नेपालस्थित अमेरिकी दूतावासले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिमा दुःख व्यक्त गरेको छ।

विज्ञप्तिमा बाढीमा परी आफन्त गुमाएका परिवारप्रति समवेदना प्रकट गरिएको छ। बाढीको घटनालाई नजिकबाट नियालिरहेको र दूतावास नेपाली अधिकारीहरूसँग सम्पर्क रहेको जनाइएको छ।

यस्तै इजरायली दूतावासले रसुवालगायत अन्य भागहरूमा विनाशकारी बाढीले पुर्‍याएको क्षतिमा दुःख व्यक्त गरेको छ। दूतावासले विपदको कठिन समयको सामना गरिरहेका परिवार र समुदायप्रति समवेदना रहेको जनाएको छ। नेपाली जनतासँग ऐक्यबद्धतामा रहेको पनि दूतावासले जनाएको छ।

यस्तै बेलायती दूतावासले विनाशकारी बाढीको क्षतिमा दुःख व्यक्त गर्दै विपत्तिमा परेका सबैप्रति समवेदना प्रकट गरेको छ।

दूतावासले नेपालमा रहेका बेलायती नागरिकहरूलाई आधिकारिक निर्देशनको पालना गर्न र प्रभावित क्षेत्रहरूमा सावधानी अपनाउन पनि आग्रह गरेको छ।