काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावितहरुको सहयोगका लागि अपिल गरेका छन्।
उनले बुधबार साँझ फेसबुकमार्फत बाढीले कल्पना नै गर्न नसक्ने क्षति भएको भन्दै सरकारले चलाएको राहत र उद्धार अभियानमा सहयोग गर्न आग्रह गरेका हुन्।
‘यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुनुपर्छ। म सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्।
बालेनले बाढी प्रभावित क्षेत्रमा नागरिकहरूको ज्यान जोगाउन र खोजतलास गर्न सुरक्षाकर्मीलाई तत्कालै मैदानमा उतारेर हेलिकप्टरमार्फत २५० जना भन्दा बढीको उद्धार गरी घाइतेलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको भन्दै उद्धार कार्य रातभर जारी रहने बताएका छन्। उनले बाढीमा घायते भएकाहरुको ज्यान जोगाउन सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गरेका छन्।
‘अहिलेको यो समय निकै संवेदनशील छ। घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु नै हाम्रो पहिलो प्राथमिकता हो,’ उनले भनेका छन्, ‘नागरिकलाई बचाउन र उहाँहरूको जनजीवन सामान्य बनाउन सरकार लागिरहनेछ। बाढीमा हराइरहेका नागरिकहरूको खोजतलासलाई अझ तीव्र पारिनेछ। घाइतेहरूको पूर्ण विवरण र बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण संकलन गरिनेछ। आज रात भर पनि उद्धार कार्य जारी नै रहने छ।’
उनले बाढी प्रभावित क्षेत्रका पीडित परिवारमा खानेकुरा, खानेपानी, औषधि र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पुर्याउने बताएका छन्।
‘नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन्। यी सबै क्षेत्रका पीडित परिवारहरूसम्म खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पुर्याइने छ,’ उनले भनेका छन्।
बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनालाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइने बालेनले उल्लेख गरेका छन्। उनले विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने बताएका छन्।
‘तपाइँहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन। तर म तपाइँहरूलाई विश्वास दिलाउन चाहन्छु, यो कठिन घडीमा तपाइँहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाइँहरूकै साथमा छ। कृपया धैर्य धारण गर्नुहोला। तपाइँहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ,’ उनले भनेका छन्।










