जलविद्युत आयोजना तहसनहस हुँदा बीमा कम्पनीलाई दायित्वको भार, क्षति संकलन गरिंदै



बिजमाण्डू
२०८३ भदौ १० गते १९:३० | Aug 26, 2026
जलविद्युत आयोजना तहसनहस हुँदा बीमा कम्पनीलाई दायित्वको भार, क्षति संकलन गरिंदै


काठमाडौं। २०८२ असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीका कारण क्षतिग्रस्त बनेको रसुवागढी जलविद्युत आयोजना पूर्णरुपमा सञ्चालन आउन लागि १ वर्ष लाग्यो। मर्मत गरेर पूर्णरुपमा सञ्चालनमा आएको दुई महिनामा आयोजना फेरि तहसनहस भएको छ।

Vigo
GBIME
Tata

नेपाल विद्युत प्राधिकरणको लगानी रहेको १११ मेगावाट क्षमताको रसुवागढी आयोजना बुधबार भोटेकोशीमा अकस्मात आएको बाढीले क्षतविक्षत भएको हो। पोहोरको बाढीका कारण पुनर्निर्माण सम्पन्न गर्दा १ अर्ब ४४ करोड रुपैयाँ नोक्सानीमा गएको आयोजना बनाउन अब कति लाग्छ? क्षति यकिन गर्न बाँकी छ।

रसुवागढी मात्र नभइ विद्युत उत्पादन गरिरहेका र निर्माणाधीन एक दर्जनभन्दा बढी आयोजना बुधबार क्षतिग्रस्त भएका छन्।

१४ महिनाको अन्तरालमा दुई पटक बाढीले बगाउँदा एकातिर जलविद्युत आयोजनाको भविष्य अनिश्चित बनेको छ भने अर्कातिर निर्माण क्षतिको दायित्वको भारले निर्जीवनदेखि पुनर्बीमा कम्पनीलाई समेत धक्का पुगेको छ। आयोजनाको निर्जीवन बीमा कम्पनीमार्फत इन्स्योरेन्स गरिएको हुन्छ।

बाढीले आयोजनामा पुगेको क्षतिको प्रत्यक्ष दायित्व निर्जीवन बीमा कम्पनीको काँधमा आउँछ। जसको असर कम्पनीको ब्यालेन्स सिटमा देखिने छ।

यसपटक बाढीले जलविद्युत आयोजनासँगै ७०० भन्दा बढी सवारीसाधन र २०० कन्टेनर सामान बाढीले बगाएका कारण बीमा कम्पनीले बेहोर्नुपर्ने दायित्व निक्कै ठूलो हुने देखिएको छ। नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षत्रीले कम्पनीहरुले क्षतिको विवरण संकलन गरिरहेको बताए।

‘हामीले क्षतिको विवरण संकलन गरिरहेका छौं। क्षतिको यकिन विवरण आएको छैन,’ उनले भने, ‘बाढीले धेरै नै क्षति पुर्‍याएकाले बिहीबार बीमक संघको बैठक बोलाएका छौं।’

बाढीले ११ वटा जलविद्युत् आयोजना र २५ मेगावाटको सोलार प्लान्टको कुल ४३१.१ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।

बाढीले संचालनमा रहेको १११ मेगावाटको रसुवागढी, ७८ मेगावाट क्षमताको सान्जेन खोला, ५ मेगावाटको मैलुङ खोला, २० मेगावाटको लाङटाङ खोला, २२ मेगावाटको चिलिमे, २४ मेगावाटको त्रिशूली, १४.१ मेगावाटको देवीघाट, ६० मेगावाटको माथिल्लो त्रिशूली-३ए तथा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१, १२० मेगावाटको रसुवा-भोटेकोशी, ४.४२ मेगावाट क्षमताको माथिल्लो मेलुङ-ए, ३७ मेगावाटको माथिल्लो त्रिशूली-३बी, १५.६ मेगावाटको मिडल त्रिशूली र २५ मेगावाटको सोलार आयोजनामा क्षति पुगेको हो।