काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले सुरक्षित भएर बाढी प्रभावितको उद्धार तथा राहतमा जुट्न अपिल गरेको छ। बुधबार बिहान आएको भोटेकोशीको बाढीले रसुवा, नुवाटकोटसँगै विभिन्न जिल्लामा भएको क्षतिले निजी क्षेत्र स्तब्ध छ।
नेपाल उद्योग वाणिज्य महासंघले मातहतका जिल्ला/नगर उद्योग वाणिज्य संघहरू, वस्तुगत संघहरू तथा सम्पूर्ण उद्योगी, व्यवसायीलाई स्थानीय प्रशासन, सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न आग्रह गरेको हो।
‘सबैको समन्वयमा तत्काल प्राथमिकताका साथ उद्धार, राहत र सुरक्षा व्यवस्थापनमा सक्रिय रूपमा संलग्न हुन हार्दिक अपिल गर्दछ,’ महासंघले भनेको छ।
विनाशकारी बाढीबाट ठूलो जिउधनको क्षति भएकोमा महासंघले गहिरो चिन्ता व्यक्त गरेको छ। ‘घर, पसल, सवारी साधन, पुल, जलविद्युत् गृह लगायतका भौतिक संरचनामा धेरै ठूलो क्षति पुगेकोमा चिन्ता व्यक्त गर्दै भविष्यमा गर्नुपर्ने पुनःस्थापनाको कार्यमा पनि महासंघ सदैव साथमा रहेको जानकारी गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ।
महासंघले आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। महासंघले तटीय तथा प्रभावित क्षेत्रका सम्पूर्ण उद्योगी, व्यवसायी, सर्वसाधारण तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाउन आग्रह पनि गरेको छ।











