लुभुमा अन टेस्ट इभी माइक्रोबस दुर्घटना, चालकसहित घाइते चारमध्ये दुई जनाको अवस्था गम्भीर



बिजमाण्डू
२०८३ भदौ ६ गते ०८:३७ | Aug 22, 2026
लुभुमा अन टेस्ट इभी माइक्रोबस दुर्घटना, चालकसहित घाइते चारमध्ये दुई जनाको अवस्था गम्भीर


काठमाडौं। ललितपुरको महालक्ष्मी-८ लुभुस्थित नरकट्टेमा ‘अन टेस्ट’ ईभी माइक्रोबस दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। शनिबार बिहानको घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Vigo
GBIME
Tata

प्रहरीका अनुसार अनियन्त्रित भएको माइक्रोबस सडकछेउको घरको गेटमा ठोक्किएपछि गेटनजिक पार्किङ गरेर राखिएको बा १८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किएको थियो। दुर्घटनामा कारमा सामान्य क्षति पुगेको छ।

दुर्घटनामा माइक्रोबस चालक महालक्ष्मी–८ लुभुका २६ वर्षीय अखिल राजथला र महालक्ष्मी–७ चागाथलीका २५ वर्षीय आशिष महर्जन गम्भीर घाइते भएका छन्। राजथलाको किस्ट अस्पताल र महर्जनको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, घाइतेहरु मकवानपुर घर भई हाल महालक्ष्मी–६ सानागाउँ बस्दै आएकी १८ वर्षीया एलिसा लामा र लुभुका २६ वर्षीय राज महर्जनको किस्ट अस्पतालमा उपचार भइरहेको छ। दुवैको अवस्था सामान्य छ।

दुर्घटनाका बेला माइक्रोबसमा चालकसहित चार जना सवार थिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।