काठमाडौं । उद्योगी शेखर गोल्छालाई एक करोड धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। विशेष अदालतमा मंगलबार हाजिर भएका गोल्छालाई धरौटी लिएर रिहा गर्न आदेश दिइएको हो।
अध्यक्ष बासुदेव आचार्य र सदस्यहरु हेमन्त रावल र विदुर कोइरालाको इजलासले सो आदेश दिएको हो।
गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो। उनीसहित विशेष अदालतमा ३४ जना विरुद्ध जेठ २८ गते मुद्दा दायर भएको थियो।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर गरिएको मुद्दामा मुख्य प्रतिवादीका रूपमा भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित अन्य व्यक्तिहरू तथा कम्पनीहरूलाई समेटिएको थियो। भट्ट र अग्रवाल भने सोही केसमा पूर्पक्षको लागि थुनामा रहेका छन्।
गोल्छाले हिमालयन रिइन्युरेन्स कम्पनीको अध्यक्ष हुँदा रकम शेयर मार्फत गैरकानुनी तवरमा चलाएको भन्दै मुद्दा दायर गरेको थियो। २०८२ फागुनमा उनले अध्यक्ष पदबाट राजिनामा समेत दिएका थिए।
उनी विरुद्ध जिल्ला अदालत काठमाडौंमामा विमा र धितोपत्र सम्बन्धि मुद्दा विचाराधीन रहेको छ। जिल्लाबाट पनि दुवै कसुरमा एक करोड रुपैयाँ धरौटी बुझाएर दुई साता अघि उनी रिहा भएका थिए।
त्यस्तै यसै मुद्दामा जोडिएका अर्का व्यापारी ऋषीराज मोरलाई पनि अदालतले १ करोड धरौटीमा रिहा गरेको थियो।










