काठमाडौं। इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर डिल्लीराज खड्का र लेखा अधिकृत मिलनकुमार भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्दा दायर गरेको छ। ६ लाख रुपैयाँ घूस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा मंगलबार मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घूस मागेको सूचनाका आधारमा आयोगको टंगाल र इटहरी कार्यालयबाट संयुक्त टोली खटिएको थियो। टोलीले इन्जिनियर खड्कालाई ६ लाख रुपैयाँ घूस लिइसकेको अवस्थामा झापाको दमक-१ स्थित एक खाजाघरबाट गत असार अन्तिम साता नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा खड्का र चुलाचुली गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत लेखा अधिकृत भट्टराईको आपसी मिलेमतो तथा योजनामा घुस मागिएको खुलेको अख्तियारले जनाएको छ।
आयोगका अनुसार पुलको डिजाइन, रिडिजाइन, थर्ड पार्टी भेरिफिकेसन तथा ठेक्कासम्बन्धी काम सम्पन्न गरी पेस भएको बिलको रकम भुक्तानी गराउने प्रक्रिया सजिलो गरिदिने भन्दै दुवै जनाले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घूस मागी लिएका थिए।
दुवैले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर आयोगको छ। दुवैविरुद्ध मुद्दामा ६ लाख रुपैयाँ बिगो कायम गरी ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद तथा सोही ऐनअनुसार बिगो बराबर जरिवानाको सजाय मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन्।










