काठमाडौं। मंगलबार सुरु हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सवारीसाधनहरूको मात्रै प्रदर्शनी हुने छैन। आयोजक टिम नाइमाले उक्त एक्स्पोमा फरक-फरक विषय राखेर अटो सेक्टरको बारेमा मोबिलिटी संवाद पनि गर्ने योजना बनाएको छ।
नाइमा नेपालले एक्स्पोको अवधिमा नाइमा मोबिलिटी संवाद अन्तर्गत ६ दिनसम्म विभिन्न विषयमा ‘लर्निङ सेसन’ आयोजना गरिने जनाएको छ। एक्स्पो साउन २६ देखि ३१ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ।
‘लर्निङ सेसन’ भने नेपाल प्रहरी क्लबको ब्लु पेभिलियन अडिटोरियम हलमा संचालन हुनेछ। सबै सेसनमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसनले मोबिलिटी संवाद पनि राखेको हो। गाडी प्रदर्शनसँगै मोबिलिटी क्षेत्रका नीतिगत, आर्थिक, प्राविधिक र भविष्यका विषयमा बहस हुनेछन्। गत वर्ष पनि आयोजकले यस्ता संवादहरू आयोजना गरेका थिए।
पहिलो दिन वैदेशिक लगानीमाथि बहस हुनेछ। साउन २६ गते मोबिलाइजिङ फ्युल फर इकोनोमिक ग्रोथ विषयमा बहस हुनेछ।
उक्त सेसनमा नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष ऋतु सिंह वैद्य सहभागी हुनेछन्।
सेसनको मोडरेसन अनुभवी बैंकर तथा लिड नेपाल इंकका अध्यक्ष अनिल केशरी शाहले गर्नेछन्। अर्थतन्त्रमा लगानीको आवश्यकता, विदेशी लगानी भित्र्याउने वातावरण तथा मोबिलिटी क्षेत्रले आर्थिक गतिविधिमा पार्न सक्ने प्रभावबारे छलफल हुने नाइमा नेपालले जनाएको छ।
साउन २७ गते भने ट्राफिकदेखि यातायात व्यवसायीसम्म एउटै मञ्चमा संवादमा हुनेछन्। जसमा ‘मोबिलिटी : हिजो, आज र भोलि’ शीर्षकमा बहस हुनेछ।
यो सेसनमा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, पठाओका म्यानेजिङ डाइरेक्टर येशु थकाली, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेशप्रसाद काफ्ले, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ट्राफिक तथा यातायात इन्जिनियरिङ/प्लानिङका सल्लाहकार अनुकूल निधि र फेडेरेसन अफ नेपालीज नेसनल ट्रान्सपोर्ट इन्टरप्रेनर्सका अध्यक्ष सरोज सिटौला सहभागी हुनेछन्।
सेसनको मोडरेसन वरिष्ठ पत्रकार तथा टेलिभिजन प्रस्तोता टिकाराम यात्रीले गर्नेछन्। यसले नेपालको सडक, सार्वजनिक यातायात, ट्राफिक व्यवस्थापन, राइड सेयरिङदेखि आगामी दिनको मोबिलिटी प्रणालीसम्मका विषयलाई एउटै मञ्चमा ल्याउनेछ।
नाइमा मोबिलिटी एक्स्पोको लर्निङ सेसनमा अटोमोबाइल मात्रै नभई मोबिलिटीसँग जोडिएका वित्तीय तथा वातावरणीय विषयलाई समेत समेटिएको छ। बैंक र बीमादेखि ब्याट्री रिसाइकलसम्मका विषयमा बहस हुनेछ।
साउन २८ मा ‘मोबिलाइजिङ मोबिलिटी थ्रू फाइनान्स एण्ड इन्सुरेन्स’ विषयमा छलफल हुनेछ। यसको मोडरेटर सञ्जोग कोइराला रहनेछन्।
साउन २९ मा भने ब्याट्री रिसाइकल र इथानोल ब्लेन्डिङ फ्युलको विषयमा बहस हुनेछ। उक्त सेसनको मोडरेसन आकाश गोल्छा र दीपक थापालियाले गर्नेछन्।
यो सेसन विशेषगरी नेपालमा बढ्दो विद्युतीय सवारीसँगै भविष्यमा देखिने इभी ब्याट्री व्यवस्थापन, रिसाइकल तथा पेट्रोलियम इन्धनमा इथानोल मिसाउने विषयमा केन्द्रित हुनेछ।
अटोमोबाइलमा एआईको प्रभाव विषयमा पनि छलफल हुनेछ। साउन ३० मा ‘एआई एण्ड अटोमोबाइल टेक्नोलोजी : ड्राभिङ द फ्युचर अफ मोबिलिटी’ शीर्षकमा सेसन आयोजना हुनेछ। यसको मोडरेटर आलोक खत्री रहनेछन्।
अटोमोबाइलमा एआईको प्रयोग, स्मार्ट सवारी, ड्राइभिङ प्रविधि तथा भविष्यको मोबिलिटीमा प्रविधिले ल्याउने परिवर्तनबारे यसमा छलफल हुनेछ।
अन्तिम दिन साउन ३१ मा भने ‘प्रतिभा आयात, कामदार निर्यात : नेपालको शिक्षा, सीप र उद्यमशीलताको खाडललाई पुर्ने’ विषयमा बहस हुनेछ। यसको मोडरेटर सञ्जय सिलवाल गुप्ता रहनेछन्।
यसरी नाइमा एक्स्पोले गाडी बेच्ने र देखाउने थलोबाट मोबिलिटी क्षेत्रकै बहस गर्ने मञ्चका रूपमा आफूलाई प्रस्तुत गर्न खोजेको देखिन्छ। नाइमा नेपालका अनुसार एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक हुनेछन्।









