काठमाडौं। चिनियाँ विद्युतीय सवारी निर्माता चेरीको नयाँ इलेक्ट्रिक क्रसओभर ‘चेरी क्यू’ काठमाडौं आइपुगेको छ। आगामी मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ बाट यो गाडीलाई नेपाली बजारका लागि औपचारिक रूपमा सार्वजनिक हुँदैछ।
नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालि हो। कम्पनीले चेरी क्यूलाई एक्स्पोमा सार्वजनिक गर्ने तयारी रहेको खुलाएको छ। एक्स्पोमा सहभागीले यो गाडीलाई अवलोकन तथा अनुभव गर्न पाउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार चेरी क्यू चेरीको नयाँ पुस्ताको इभी हो। आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी डिजाइन गरिएको यो इलेक्ट्रिक अर्बन क्रसओभरमा ४१.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री र एकपटकको चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज रहेको दाबी गरिएको छ।
गाडीमा ५४० डिग्री क्यामेरा, १७५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा ७० लिटर क्षमताको फ्रंक स्पेस रहेको कम्पनीले जनाएको छ। त्यस्तै, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र २० भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) फिचर छ।
चेरी क्यूले सन् २०२५ मा रेड डट डिजाइन अवार्ड र सन् २०२६ मा आईएफ डिजाइन अवार्डसमेत प्राप्त गरेको कम्पनीले उल्लेख गरेको छ। काठमाडौंमा गाडी देखिएपछि यसको तस्बिर तथा विशेषताबारे चर्चा भइरहेको छ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा चेरी क्यूको औपचारिक सार्वजनिकसँगै नेपाली बजारमा यसको उपस्थितिबारे थप जानकारी उपलब्ध हुने जनाइएको छ।









